सी.एम.सी., कास्कीको आयोजनामा हिजो पल्स बिश्लेषण प्रयोगात्मक तालिम सम्पन्न
को-आपरेटिभ म्यानेजर्स क्लव (CMC),कास्कीको आयोजनामा हिजो पोखरामा पल्स विश्लेषण प्रयोगात्मक तालिम सम्पन्न भयो । सी.एम.सी.,कास्कीका अध्यक्ष डम्बरसिंह बस्नेतको अध्यक्षता र सचिव बोधराज रेग्मीको सञ्चालनमा भएको तालिममा कास्की जिल्लाका ४७ वटा सहकारी संस्थाहरुका व्यवस्थापक तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही क्लवका उपाध्यक्ष अपील कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त तालिमको त्यसै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.,पोखराका मुख्य प्रवन्धक मिलन ढकालले सहजीकरण गर्नु भएको थियो । उहाँले देश कै नमुना बनेको सी.एम.सी., कास्कीले सहकारीको सहकारी अभियानलाई पूर्ण रुपमा सहयोग गरिरहेको बताउनु भएको थियो ।


सो अवसरमा जिल्ला सहकारी संघ लि., कास्कीका वरिष्ठ प्रवन्धक भोजराज घिमिरेलाई मानार्थ सदस्यता सहित सम्मान गरिएको थियो । त्यस अवसरमा पल्सका ४६ वटा सूचकहरु मध्ये १७ वटाको प्रयोगात्मक अभ्यास गरिएको बताइएको छ ।
कास्की जिल्लाका ११७ वटा सहकारी संस्थाहरु आवद्ध रहेको सी.एम.सी.,कास्कीले स्थापना कालदेखि सहकारी व्वस्थापन सम्बन्धी दर्जनौँ तालिम तथा गोष्ठिहरु सञ्चालन गर्नुका साथै देशका विभिन्न स्थानमा रहेका नमुना सहकारी अवलोकन भ्रमण गरी भ्रमण कै क्रममा प्रयोगात्मक तालिमहरु सञ्चालन गर्दै आएको उक्त क्लवको भनाई छ ।
