सहकारी संस्था अनुगमन गर्दै पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको सहकारी विभागले आफू अन्तर्गतका सहकारी संस्थाहरुको २०७६ माघ २० गतेबाट सूचकमा आधारित अनुगमन गर्न थालेको जनाएको छ । हामीले गर्ने सहकारी अनुगमन सतही पाराको नभई विस्तृत रुपमा सफ्टवेयरमा सबै विषय हेरेर सहकारी संस्थाको अवस्थाको जानकारी लिने कार्य भइरहेको पोखरा महानगरपालिकाका सहकारी शाखा प्रमुख अर्जुन न्यौपानेको भनाई छ । पोखरा महानगरपालिका अन्तर्गत रहेका ३५७ वटा सहकारी संस्थाहरुमध्ये शुरुको दिन दुईवटा र पछिल्लो दिन दुईवटा गरी ४ वटा सहकारी संस्थाको अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँले २०७६ बैशाख ४ गतेदेखि २०७६ माघ ९ गतेसम्म ४ चरणमा गरी बचत तथा ऋण , बहुउद्देश्यीय , कृषि , उत्पादन , उपभोक्ता गरी ४५ वटा सहकारी नयाँ सहकारी संस्थाहरु दर्ता भएपनि हाल केही समयसम्मका लागि भने सहकारी संस्थाको दर्ता स्थगित गरिएको छ भन्नुभयो । आफू अन्तर्गतका ८/९ वटा सहकारी संस्थाहरुलाई गण्डकी प्रदेश अन्तर्गत रहेका सहकारी संस्थाहरु सँग एकीकरणका लागि सिफारिस दिएको उहाँको कथन छ । उहाँले सहकारी संस्थाहरुले आफ्नो प्रतिवेदन यस शाखामा आफै उपस्थित भएर बुझाइरहेको बताउनुभयो । सहकारी संस्था आफैमा स्व-नियन्त्रित संस्था भएकोले हामीले तिनको अनुगमन गरी कारवाही गर्नुभन्दा उनीहरु आफैले राम्रोसँग सहकारी नीति , विधि र प्रविधिलाई आत्मसाथ गरी सञ्चालन हुनु पर्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
