पोखराका नमूना साकोस , जाल्पारोड र उपकार साकोस , बैदाम वीच एकीकरणको प्रक्रिया अगाडि बढ्यो
पोखरा महानगरपालिका-८ , जाल्पारोडमा आफ्नै साँढे दुई तले भवनबाट सञ्चालन भइरहेको नमुना बचत तथा ऋण सहकारी संस्था लि.र सोही महानगरपालिका-६ , बैदाममा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था वीच एकीकरणको प्रक्रिया अगाडि बढेको बताइएको छ । नमुना बचत तथा ऋण सहकारी संस्था लि., जाल्पारोड , पोखराका सचिव केदार न्यौपानेले सहकारी सञ्जाल सँग कुरा गर्दै दुबैतर्फका सञ्चालक समितिले एकीकरणलाई स्वीकृत गरी सकेको अवस्था भएकोले यी दुई संस्थाहरु वीचको एकीकरण चाडै टुङ्गिएला भन्नुभयो । उहाँले २०७६ पुस मसान्तसम्म हाम्रो यस नमुना बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य ६५७ , शेयर पूँजी रु.५ करोड ३५ लाख , निक्षेप संकलन रु.१७ करोड , कर्जा लगानी रु.१८ करोड र कूल कारोवार रु.२७ रहेको बताउनुभयो । उहाँले हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यलाई यसै संस्थाको अर्को एक जना शेयर सदस्यको रोहवरमा रु.३ लाखसम्म विना धितो कर्जा दिने गरेको छ भन्नुभयो । ७ जनाको सञ्चालक समिति र ७ जना कर्मचारीहरु कार्यरत रहनुका साथै कास्की जिल्लाभर कार्यक्षेत्र भएको नमुना बचत तथा ऋण सहकारी संस्था लि.ले बचत कार्यक्रम अन्तर्गत नियमित बचत , आवधिक बचत , बचत(बचतमा दैनिक बचत र मासिक बचत) , वाल बचत र नारी बचत तथा कर्जा लगानी अन्तर्गत घरजग्गा कर्जा , शैक्षिक कर्जा , व्यापार कर्जा , कृषि कर्जा , हायर पर्चेज कर्जा र औद्योगिक कर्जा सञ्चालन गरिरहेको उहाँको कथन छ ।
