दुई सहकारी संस्थाहरु एकीकरण भई बनेको संगम-अविरत साकोस , गैंडाकोटको एकीकृत कारोवार शुरु
२०७६ पुस ५ गते नवलपरासी जिल्ला सुस्ता- बर्दघाट पूर्वको गैडाकोट नगरपालिका-१, प्रतिभा चोकमा सञ्चालन भइरहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. र सोही नगरपालिका -६ ,कालिका चोकमा सञ्चालनमा रहेको अविरत बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त साधारणसभाबाट एकीकरण भई बनेको संगम-अविरत बचत तथा ऋण सहकारी संस्था लि.को एकीकृत कारोवार २०७६ माघ २० गतेबाट शुरु भएको उक्त संस्थाका अध्यक्ष केदारनाथ न्यौपानेले सहकारी सञ्जाललाई बताउनुभयो । सो साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी उक्त संस्थाको सञ्चालक समितिको अध्यक्षमा एकीकरण पूर्वको संगम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष केदारनाथ न्यौपाने र उपाध्यक्षमा एकीकरण पूर्वको अविरत बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जयकृष्ण सापकोटालाई चयन गरेको छ । त्यस सञ्चालक समितिको सचिवमा कृष्ण पौडेल , सह-सचिवमा रीता कोइराला तिवारी , कोषाध्यक्षमा भोजेन्द्र पौडेल र सञ्चालक सदस्यमा मधुसुदन न्यौपाने , चन्द्रकुमार शर्मा , मञ्जु पण्डित , सुवाश चापागाई , गंगा अधिकारी , सीता क्षेत्री र सरिता भुसाल चयन हुनुभएको छ । संस्थाको मुख्य कार्यालय कालिका चोकमा र सदस्य सेवाकेन्द्र प्रतिभा चोक र भृकुटी चोकमा रहेको छ । उक्त संस्थाको प्रतिभा चोकमा रहेको सदस्य सेवाकेन्द्र आफ्नै भवनमा सञ्चालनमा छ भने मुख्य कार्यालयको भवन निर्माणको सिलन्यास २०७६ माघ २६ गते भएको त्यसै संस्थाका अध्यक्ष न्यौपानेको भनाई छ । २०७६ माघ २४ गतेसम्म सो संस्थाको शेयर पूँजी रु.३ करोड ,शेयर सदस्य संख्या ५,१०० , निक्षेप संकलन रु.२४ करोड , कर्जा लगानी रु.२८ करोड रु. कूल कारोवार रु.३२ करोड रहेको उहाँको कथन छ ।
