श्री पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि., फाँटबजारले आर्थिक वर्ष २०७६/०७७ को अर्धवार्षिक समीक्षा कार्यक्रमको तयारी गरिरहेको छ

0 Shares

– राजाराम कार्की , व्यवस्थापक , श्री पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि. थाहा नगरपालिका- २, फाँटबजार , मकवानपुर ।

१३ वर्ष अगाडि ७० जनाको समूहबाट श्री पाथिभरा कृषक समुह गठन गरी प्रतिमहिना रु.१० का दरले मासिक बचत जम्मा गरी उनीहरुको जम्मा रकम रु.७५ हजार शेयर पूँजीबाट मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिका-२ , फाँटबजारमा शुभारम्भ भएको श्री पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो कूल कारोवार रु. ८ करोडभन्दा माथि पु-याउन सफल भएको छ । निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्थाको अवस्थाको बारेमा उक्त संस्थाका व्यवस्थापक राजाराम कार्की सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यतिबेला तपाई के गर्दै हुनुहुन्छ ?
~ म श्री पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापकको रुपमा कार्यरत छु । २०६३ चैत्र १५ गतेबाट यस संस्थाको क्यासियर पदमा रही ८ महिना काम गरेँ । त्यसपछि निरन्तर रुपमा यो संस्थाको व्यवस्थापक जिम्मेवारीमा रहेर म कार्यरत छु ।

२. तपाईहरुको श्री पाथिभरा साकोसको यतिबेला गतिविधि के छ नि ?
~ स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस श्री पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १३ वार्षिक साधारणसभा २०७६ असोज ११ गते नै सम्पन्न भइसकेको छ । सो साधारणसभाले पारित गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यन्वयन भइरहेको छ । यसै क्रममा हाम्रो यस संस्थाको २०७६ फागुन १० गते हुने तय भएको अर्धवार्षिक समीक्षा बैठक तयारी भइरहेको छ ।

३. यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०७६ माघ २४ गतेसम्म हाम्रो यस संस्थाको शेयर सदस्य संख्या १,८७५ , शेयर पूँजी रु.१ करोड ३ हजार ७ सय , निक्षेप संकलन रु.५ करोड ७६ लाख ६ सय ७० , कर्जा लगानी रु.५ करोड ७५ लाख ३० हजार ७ सय ४० र कूल कारोवार रु.८ करोड ६१ लाख ३५ हजार ३ सय १५ रहेको छ । हाम्रो यस संस्थाले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १४.६८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । साथै संरक्षित पूँजी फिर्ता कोष कारोवारको आधारमा शेयर सदस्यहरुलाई फिर्ता पनि गरी सकिएको छ ।
हाम्रो यस संस्थाले आफ्नो नाममा फाँटबजारमा २ स्थानमा जग्गा किन्न सफल भएको छ र निकट भविष्यमा यसले आफ्नै भवन निर्माण गर्ने उद्देश्य लिएको छ । हाम्रो यो संस्थाले रु.२५ हजार भन्दा माथि बचत गर्ने आफ्ना वाल बचतकर्तालाई उनको जन्मदिनको उपलक्ष्यमा केक काटेर जन्मदिन मनाउने कार्य गर्दै आएको छ ।

४. यस संस्थाको भावी कार्यक्रम के छ नि ?
~ चालु आर्थिक वर्षमा घर-घरमा गई शेयर सदस्यता , शेयर पूँजी र कारोवार बृद्धि गर्ने , नव-दम्पती भेटघाट गर्ने , सुत्केरी महिलालाई पोषण प्रदान गर्ने , क्रियापुत्री भेटघाट गर्ने र संस्थाको आफ्नै भवन निर्माण गर्ने योजनाका साथ कार्य सञ्चालन भइरहेको छ । आफ्ना जेष्ठ सदस्य र एकल महिला / पुरुषलाई सम्मान गर्ने तथा विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान तथा अपाङ्ग सदस्यहरुलाई राहतको व्यवस्था गर्ने जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका स्थानीय समुदायमा सामाजिक कार्यहरु गरिरहेको यस संस्थाले पाथिभरा मन्दिर (जुन मन्दिरको नामबाट यो संस्थाको नाम रहेको छ।) सरसफाई , फाँटबजारमा यात्रु प्रतिक्षालय निमार्ण गर्ने र सुरक्षाका लागि प्रहरी प्रशासन सँग सहयोग मागी सहकारी भवन छेऊमा प्रहरी विट स्थापनाका गर्ने तयारी भइरहेको छ ।

५. कोपोमिस बारे तपाईको के भनाई छ ?
~ कोपोमिसको प्रयोगबाट हामी धेरै लाभान्वित भएका छौँ ।

६. सहकारी एकीकरण बारे तपाईको भनाई के छ ?
~ सहकारी एकीकरण हुनु राम्रो हो तर यो कार्य ऐच्छिक होस् ।

७. सहकारी ऐन बारे तपाई के भन्नुहुन्छ ?
~ सहकारी ऐन संशोधन भएर सहकारी संस्थामुखी हुनु आवश्यक छ ।

८. सहकारी सन्दर्भ व्याजदर बारे तपाईको धारणा के छ ?
~ सहकारी सन्दर्भ व्याजदरले हाम्रो संस्थालाई खासे असर त गरेको छैन तर यो सहकारी सिद्धान्त विपरीत आएकोले यसलाई सच्याउनु पर्ने देखिन्छ ।

९. सहकारीको प्रवर्द्धनका लागि सरकारले के गर्नुपर्ला ?
~ सरकारले सहकारीको विकास र प्रवर्द्धन हुने ढंगबाट नीति , ऐन , नियम र कार्यक्रम बनाई लागू गरोस् र सहकारीकर्मीहरुले पनि इमान्दार भएर सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी कार्य गरुन् ।
१०. अन्तमा केही भन्नु छ कि ?
~ सहकारी संघ/ संस्थाहरु व्यापारिक हिसावले नभई आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने सहयोग गर्ने ढंगले कार्यक्रम बनाई अगाडि बढ्नु अत्यन्त जरुरी देखिन्छ ।

Leave a Reply