स्वतन्त्र भूतपूर्व सैनिक साकोस , गैंडाकोटले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा उद्यम गर्न चाहने सदस्यहरुलाई सहुलियत व्याजदरमा लगानी गरेको छ

0 Shares

-रामभक्त लम्साल , उपाध्यक्ष , स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. लि.,गैंडाकोट-४ , सुस्ता-बर्दघाट पूर्वको नवलपरासी

सुस्ता-बर्दघाट पूर्वको नवलपरासीको गैंडाकोट नगरपालिका-४ मा सञ्चालन भइरहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. ले बचत तथा ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको देखिएको छ । सोही संस्थाका व्यवस्थापक शिव पौडेलको

सहयोगमा उक्त संस्थाका उपाध्यक्ष रामभक्त लम्साल सँग त्यसै संस्थाको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यतिबेला यो संस्थाको गतिविधि के छ ?
~ हाम्रो यस स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०७६ माघ २२ गते नेपाल सरकार , युवा तथा खेलकुद मन्त्रालय , युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट अति सस्तो व्याजदरमा प्राप्त कर्जाको दोस्रो किस्ताको रु.२५ लाख रकम उद्यम गर्न चाहने आफ्ना १३ जना शेयर सदस्यहरुमा १० प्रतिशत व्याजदरमा कर्जा लगानी गरेको छ । यस बेलासम्म सो कोष बापतको रु.५० लाख कर्जा रकम यसै संस्थाका २७ जना शेयर सदस्यहरुलाई १० प्रतिशत व्याजदरमा प्रदान गरी सकिएको छ । उक्त कोषबाट कर्जा वापत प्राप्त पहिलो किस्ताको रकम यस संस्थाबाट कर्जामा लिएका शेयर सदस्यहरुले बाख्रा पालन , भैंसी पालन , बंगुर पालन , किराना फसल सञ्चालन , व्यूटीपार्लर सञ्चालन जस्ता परियोजनामा लगानी गरी आय-आर्जनमूलक कार्य गरिरहेका छन् । हाम्रो यस संस्थाले उनीहरुको कामलाई सुक्ष्म ढंगले अनुगमन गरी उनीहरुलाई उत्पादन बढाउन प्रोत्साहन गरिरहेको छ ।

२. यो संस्थाको हालको शेयर पूँजी , शेयर सदस्य , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०७६ माघ २३ गतेसम्म हाम्रो यस संस्थाको शेयर पूँजी रु.१ करोड ४० लाख , शेयर सदस्य संख्या १,४८८ , निक्षेप संकलन रु.१३ करोड ६५ लाख , कर्जा लगानी रु.१३ करोड ८० लाख र कूल कारोवार रु. १७ करोड रहेको छ । गत आर्थिक वर्षमा आर्जन गरेको रकमबाट हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन गैंडाकोटका सहकारी संस्थाहरुमा विरलै पाइन्छ ।

३. यो संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गरेको छ कि ?
~ हाम्रो यस संस्थाले आफ्ना महिला शेयर सदस्य सुत्केरी भएमा २ वटा बच्चा जन्मिदा सम्म तिनलाई जनही रु.१,००० का सुत्केरी भत्ता तथा नवजात शिशुका लागि रु.१,००० का दरले बचत खाता खोली दिने व्यवस्था गरेको छ । यसैगरी यस संस्थाले आफ्ना शेयर सदस्यको मृत्यु भएमा तिनका हकवालालाई समवेदना स्वरुप रु.१२ हजार राहत प्रदान गर्दै आइरहेको छ ।

४. यस संस्थाको भावी कार्यक्रम के छ नि ?
~ यस संस्थालाई बृहत रुपमा प्रतिस्पर्धात्मक तथा गुणात्मक विकास गर्नको लागि गैंडाकोट नगरपालिका भरी कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको छ ।

५. गैंडाकोट नगरपालिका धेरै सहकारी संस्थाहरु हुँदा हुँदै पनि यो संस्था किन सञ्चालन भइरहेको छ नि ?
~ विशेषत: हाम्रो यो संस्था अरु सहकारी संस्थाहरुभन्दा पृथक सोच र विचारबाट सञ्चालन भइरहेको छ । यसका सञ्चालकहरु नितान्त सैनिक सेवामा कार्यरत रहेका भूतपूर्व सैनिकहरु हुनुहुन्छ । यस संस्थाले उहाँहरु तथा उहाँहरुका परिवार मध्ये कसैको नमिलेका शैक्षिक कागजात मिलाउन पनि सहयोग गरिरहेको छ । अबको ५ वर्ष भित्रमा यस संस्थाले आफ्नो कारोवार रु.५० करोड पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन गरिरहेको छ । यो कुरालाई यस संस्थाको विगतको गतिविधिले पुष्टि गर्दछ ।

६. तपाई सैनिक सेवामा रहेर काम गरेको मान्छे सहकारी क्षेत्रमा रहेर काम गरी रहँदा कस्तो अनुभूति गर्नु भा’छ ?
~ म सैनिक सेवाबाट निबृत्त भएको पनि ३० वर्ष भयो । यस बीचमा मैले सहकारी क्षेत्रमा रहेर यसरी सेवा अवसर पाइरहेको छु । यसरी सेवा गर्न पाउदा मलाई गर्व महसूस भइरहेको छ ।

७. तपाईहरुलाई सहकारी संस्था सञ्चालन गर्न के ले प्रेरित ग-यो ?
~ हामी विभिन्न ठाउँहरुबाट नेपालको मध्यभागमा रहेको यस सुन्दर पर्यटकीय नगरी गैंडाकोटमा आएका भूतपूर्व सैनिक साथीहरुको स्थानीय कसैसँग चिनाजानी नभएको अवस्थामा हामी भूतपूर्व सैनिकहरु संगठित हौँ भन्ने भावनाले प्रेरित भई शुरुमा २१ जना साथीहरु जम्मा भएर २०६८ सालमा जिल्ला प्रशासन कार्यालय , नवलपरासीमा जनकल्याणकारी संस्था दर्ता ग-यौँ । साथीहरुको सल्लाहले भविष्यको लागि बचत गरौँ भन्ने भावनाले यो संस्था डिभिजन सहकारी कार्यालयमा दर्ता गरी सञ्चालन शुरु गरेका हौँ । यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ ।

८. सहकारी अभियानमा कार्यरत सहकारीकर्मीहरुलाई तपाईको सुझाव के छ ?
~ खाली ब्राण्ड मात्रै भनेर हिड्नु भन्दा पनि सदस्यहरुको खुशी र चाहनालाई मध्यनजर गरी संस्था सञ्चालन गर्न सहकारी अभियानमा क्रियाशील साथीहरुलाई मेरो सुझाव छ ।

९. सहकारीको प्रवर्द्धनका लागि के गर्नु पर्ला जस्तो लाग्छ , तपाईलाई ?
~ नेपाल सरकार , युवा तथा खेलकुद मन्त्रालय , युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जसरी नै अन्तबाट पनि यस संस्थाले सहुलियत ऋण प्राप्त गर्ने अवसर प्राप्त गर्न सक्ने अवसर प्राप्त होस् किनभने हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गर्ने उद्देश्यले सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने नीति लिएको छ ।

Leave a Reply