महिलाहरुले सञ्चालन गरेका सहकारी संस्थामा दोहोरो सदस्यताको प्रावधान लागू गरिनु हुदैन : महिला कल्याणकारी साकोसकी अध्यक्ष हरि लम्साल आचार्य (अञ्जिता)

नवलपरासी सुस्ता-बर्दघाट पूर्वको गैंडाकोट नगरपालिका-५ मा आफ्नै भवनबाट सञ्चालन भइरहेको महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष हरि लम्साल आचार्य (अञ्जिता) ले

महिलाहरु मात्रैले सञ्चालन गरेका सहकारी संस्थामा दोहोरो सदस्तताको प्रावधान लागू गरिनु हुदैन र यस खाले सहकारी संस्थालाई एकीकरणका लागि बाध्यकारी अवस्था पनि हुनुहुदैन भन्नुभएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले महिला सहकारी संस्थाले सञ्चालन गर्ने सीपमूलक तालिमहरुमा राज्यको तर्फबाट आवश्यक सहयोग हुनुपर्छ भन्नुभयो । महिलाहरु आर्थिक रुपमा सवल बन्न नसकेका कारण पुरुषहरु सहितले सञ्चालन गरेका सहकारी संस्थाको तुलनामा महिलाहरुले मात्रै सञ्चालन गरेका सहकारी संस्थाहरु अलि कमजोर रहेको उहाँको भनाई छ । सोही संस्थाकी संस्थापक अध्यक्ष रेखा पौडेलले सहकारी ऐन र नियमावलीमा व्यवस्था भएका प्रावधानहरु यथाशीघ्र कार्यान्वयन होस् र महिला सहकारी संस्थाको प्रवर्द्धन हुने गरी राज्यको तर्फबाट कार्य सञ्चालन होस् भन्नुभयो । उक्त संस्थाकी उपाध्यक्ष दिलमाया सिग्देलले हाम्रो यस महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.मा खराब कर्जाको अवस्था नरहेको र हरेक चुनौतीको सामना गर्दै यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । त्यसैगरी सोही संस्थाकी सचिव विद्या अधिकारीले त्यस संस्थाको शेयर सदस्यता , शेयर पूँजी र कारोवार बृद्धि गर्ने नीति अनुरुप कार्य सञ्चालन भइरहेको बताउनुभयो ।
एक कट्ठा जमीन र आफ्नै भवन रहेको सो संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक रञ्जिता आचार्यले यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म ५ वर्षे व्यवसायिक योजनाको नीतिका साथ कार्य भइरहेको बताउनुभयो भने कोषाध्यक्ष शान्ता घर्तीले आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा यस संस्थाको सदस्य संख्या १,२०० , शेयर पूँजी रु.६६,००,००० , बचत संकलन रु.४,४५,००,००० , ऋण लगानी रु.५,००,००,००० पु-याउने लक्ष्यका साथ कार्य भइरहेको छ भन्नुभयो ।
रेखा पौडेल , उर्मिला पौडेल ,निर्मला घिमिरे र मानकुमारी घिमिरेको अध्यक्षतामा सञ्चालक समिति निर्माण भएर त्यस संस्थालाई अगाडि बढाइएको थियो । २०७६ कार्तिक २३ गते सम्पन्न उक्त संस्थाको २१औँ वार्षिक साधारणसभाले चयन गरेको हरि लम्साल आचार्य (अञ्जिता) -अध्यक्ष , दिलमाया सिग्देल-उपाध्यक्ष , विद्या अधिकारी-सचिव , शान्ता घर्ती – कोषाध्यक्ष तथा ठाकुरकुमारी पौडेल ,शान्ति पौडेल , मेनुका थापा , शोभा पौडेल ,राधा भण्डारी , सीताकुमारी पाठक , र धनमाया परियार-सदस्य रहेको सञ्चालक समिति र रञ्जिता आचार्य- संयोजक एवं सुशिला पाण्डे र मीरा आचार्य सदस्य रहेको लेखा सुपरीवेक्षण समिति क्रियाशील छ । यसका साथै इन्दिरा भुसाल खरेल-व्यवस्थापक , हिमा तिवारी-सह-व्यवस्थापक, निशा दवाडी- बचत संकलक र मित्रलाल माझी -गार्डको पदमा कार्यरत रहनु भएको छ ।
सोही संस्थाकी व्यवस्थापक इन्दिरा भुसाल खरेलले २०७६ पुस मसान्तसम्म यस संस्थामा शेयर सदस्य संख्या १,०६७ , शेयर पूँजी हिसाव रु.६४,५२,६०० , बचत हिसाव रु.३,५०,५०,११६/३० , कर्जा लगानी हिसाव रु.४,१८,५२,४२१ ,कोष हिसाव रु.५१,३०,१३८/८३ , अन्य दायित्व हिसाव रु.२,३०,५५४/३२ र कूल कारोवार रु.४,६९,९६,९११/९७ रहेको बताउनुभयो ।

