गागलफेदीमा सञ्चालन शुरु भयो नयाँपाटी साकोसको सदस्य सेवाकेन्द्र
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीमा आफ्नै भवनमा मुख्य कार्यालय र सोही नगरपालिका-६, जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले काठमाडौं कै कागश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीमा २०७६ फागुन ३ गते विहान सदस्य सेवाकेन्द्र सञ्चालन शुरू गरेको छ । सोही संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले अध्यक्षता गर्नु भएको सो सेवाकेन्द्र शुभारम्भ समारोहमा कागेश्वरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले उक्त सेवा केन्द्रको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले देशको संघीय संरचना अनुरुप कार्यक्षेत्रका आधारमा सहकारी संस्थाहरु संघ , प्रदेश र स्थानीय तह अन्तर्गत रहेर सञ्चालन भइरहेकोले सहकारी संस्थाहरु ऐन/नियमको पालना गरी सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरुले बचत र ऋण कारोवारमा मात्र सिमित नभई उत्पादनमूलक क्षेत्रमा लाग्न र आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाई उनीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी आफ्ना गतिविधि अगाडि बढाउनु पर्ने बताउनुभयो । राजनीतिक दलहरुका प्रतिनिधिहरु ,वडा सदस्य , समाजका विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरु तथा सोही संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति ,उप-समितिहरु , शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको उक्त अवसरमा त्यसै संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले हाम्रो यस नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले गागलफेदी क्षेत्रका आफ्ना सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा सुविधा प्रदान प्रदान गर्ने उद्देश्यले गागलफेदीमग यस संस्थाको सदस्य सेवाकेन्द्र सञ्चालन शुरु गरिएको र यो सेवा केन्द्रबाट सदस्यहरुले सहज ढंगले बचत र ऋण लगायतका सुविधाहरु प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त सेवा केन्द्र उद्घाटनको अवसरमा सो संस्थाले आफ्नो शेयर सदस्यता लिएका नयाँ शेयर सदस्यहरुलाई ए.टी.एम.(ATM) कार्ड नि:शुल्क उपलब्ध गरेको थियो भने शेयर सदस्य बन्दा भरिएको फारममा ५० प्रतिशत छुट प्रदान गरेको थियो । । त्यस संस्थाले यो सुविधा ०७७ असार मसान्तसम्म प्रदान गरिने त्यस अवसरमा जानकारी दिइएको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि गजुरेललाई सो समारोहका अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

२०७६ पौष २९ गतेसम्म उक्त संस्थामा वाल बचतकर्ता , लघुवित्त समूह र शेयर सदस्य गरी जम्मा सदस्य संख्या ९,५९१ , शेयर पूँजी रु. १०,२४,८५,००० , निक्षेप संकलन रु. ६४,५३,२६,०००, कर्जा लगानी रु.६५,५७,९९,००० , कुल सम्पत्ति रु. ८८,५५,४२,००० र संस्थागत पूँजीकोषमा रु.६,४६,८२,००० रहेको बताइएको छ ।
