कोरोना भाइरसको जोखिमबाट जोगिने उपाय खोजी गरौँ !
छिमेकी देश चीनको उहानबाट शुरु भएको कोरोना भाइरस (Covid-19) महामारीको रुपमा संसारभर फैलिदै गएको छ । कोरोना भाइरसबाट चीनमा ठूलो जनधनको क्षति भइरहेको छ भने इटाली लगायतका अरु देशहरु पनि यसको मार खेप्न विवश बनिरहेका छन् । कोरोना भाइरसको प्रभाव दक्षिण एसियामा पनि फैलिएको खबर सञ्चार माध्यमहरुमा सार्वजनिक भइरहेको छ । यसबेलासम्म नेपालीहरुमा भने कोरोना भाइरसको संक्रमण भएको पाइएको छैन तर यसको त्रास भने नेपालमा जताततै बढिरहेको छ । यसैका कारण नेपाल सरकारले सञ्चालन गरिरहेको नेपाल भ्रमण वर्ष-२०२० को प्रचार प्रसार स्थगित गरेको बताइएको छ भने बढी भीडभाड हुने सभा , सम्मेलन , गोष्ठि , सेमिनार जस्ता कार्यक्रमहरु स्थगित भइरहेका छन् । यही कारण विद्यालय तथा विश्वविद्यालय तहका परीक्षाका कार्यक्रमको समय तालिका बदलिएको छ ।
यतिबेला कोरोना भाइरसको त्रास सर्वत्र फैलिरहेको बेला सरकार र नेपाली
नागरिकहरुको साह्रै ठूलो हिस्सा ओगटेक़ सहकारी अभियान लगायत वीच एक आपसमा हातेमालो गरी आतंकित अवस्थालाई सामान्य बनाउन , कोरोना भाइरसको जोखिमबाट जोगिन र यसको उन्मुलनको उपाय खोजी गर्न लाग्नु जरुरी छ ।
दु:खको यस घडीमा नेपालीहरुलाई विपत्ती पर्दा सहयोग गर्ने चीन , इटाली लगायतका कोरोना भाइरसबाट प्रभावित देशहरु तथा ती देशहरुका नागरिकहरुलाई सकेको मद्दत गर्नु पनि आवश्यक छ ।
विकसित देशहरुले अव्यवस्थित ढंगबाट सञ्चालन गरिरहेको औद्योगीकरणले उत्सर्जन गरिरहेको कार्वन लगायतले गरिरहेको जलवायु परिवर्तन जस्ता कारणले इबोला , कोरोना जस्ता भाइरसहरु उत्पन्न भई तिनले जनधनको क्षति गरिरहेको विज्ञहरुको भनाई छ । सरकार , सहकारी अभियान लगायत मिलेर विकसित देशहरुले गरिरहेको कार्वन उत्सर्जनको अन्त गर्ने उपायको खोजी गर्न दवावमूलक गतिविधि गर्नु पनि अति आवश्यक बनिरहेको छ ।
(सहकारी सञ्जाल मासिकको २०७६ फागुन अंकबाट साभार ।)