सहकारी सहित वित्तीय संघ/ संस्थाको वार्षिक साधारणसभा गर्ने उचित वातावरण बनाइयोस् !
यतिबेला आर्थिक वर्ष २०७७/०७८ शुरु भैसकेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सहकारी संघ/संस्था तथा वित्तीय संस्थाहरुको वार्षिक साधारणसभा गर्ने बेला भएको छ तर एकातिर संसार भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19) को जोखिमबाट बच्न २५ जनाभन्दा बढी मानिसहरु भेला हुन नपाउने गरी नेपाल सरकारले निर्देशन जारी गरेको छ भने अर्कातिर ऐनमा सहकारी संघ/संस्थाको वार्षिक साधारणसभामा कम्तीमा ५१ प्रतिशत शेयर सदस्यको उपस्थिति अनिवार्य गरिएको छ । यसैगरी पुस मसान्तसम्म साधारणसभा गरी माघ १५ गतेसम्ममा साधारणसभा सम्पन्न गरेको प्रतिवेदन राज्यको सम्बन्धित नियमनकारी निकायमा बुझाउनु पर्ने र यदी त्यसो नभएमा सहकारी संघ संस्था दण्डित हुनु पर्ने प्रावधान पनि छ ।
यसले सहकारी क्षेत्रमा अन्यौल खडा गरेको छ । यो अन्यौलताको अवस्था अविलम्व हटाई आफ्नो वार्षिक साधारणसभा गर्न उचित वातावरण बनाउनु पर्ने र त्यसका लागि आफ्ना छाता संगठनले पहल गर्नु पर्ने माग सहकारीकर्मीहरुलै गरिरहेका छन् । यही सन्दर्भमा यही साउन १६ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले यो सहितका माग समेटिएको ज्ञापन-पत्र राष्ट्रिय सहकारी महासंघ लि. र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.मा बुझाएको छ । राष्ट्रिय सहकारी महासंघ लि., नेफ्स्कून लगायतका केन्द्रीय सहकारी संघहरुले पनि यसको लागि पहल गरिरहेको बताएका छन् ।
लामो समयको लकडाउनले असर गरेको सहकारी सहितको वित्तीय क्षेत्रलाई माथि उठाउन राज्यले विशेष योजना बनाएर कार्यान्वयन गर्नु जरुरी छ र सहकारी सहित वित्तीय संघ/संस्थाको वार्षिक साधारणसभा गर्ने अविलम्व उचित वातावरण बनाइयोस् ।
(सहकारी सञ्जाल मासिकको २०७७ को साउन अंकबाट)