कोरोना भाइरस विरुद्ध सचेतना कार्यक्रम गरी मनायो प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि. , पोखराले आफ्नो १०औँ स्थापना दिवस

नेवेल कोरोना भाइरस(Covid-19)को आतंक फैलिरहेको बेला पोखराको गैह्रापाटनमा मुख्य कार्यालय तथा पोखरा कै बगर र लेखनाथको बुढीबजारमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १०औं स्थापना दिवस हिजो कोरोना भाइरस विरुद्धको सचेतना कार्यक्रम सँगै मास्क वितरण गरी मनाएको सो संस्थाकी प्रवन्धक निरु थापाले बताउनु भएको छ ।
सोही संस्थाको मुख्य कार्यालय परिसरबाट उक्त संस्थाका अध्यक्ष निदेश कोइरालाको नेतृत्वमा त्यस संस्थामा आबद्ध सदस्यहरुले कोरोनाबाट बच्ने उपायहरु लेखिएका प्लेकार्ड बोकेर जनचेतना जगाउने कार्य गरेका थिए । त्यस अवसरमा ७०० को हाराहारीमा बटुवाहरुलाई मास्क वितरण गर्नुका साथै नेवेल कोरोना भाइसका लक्षणहरु के हुन् र यसबाट आफू तथा अरुलाई कसरी बचाउने जस्ता जानकारी उल्लेख भएका हजारभन्दा भढी पर्चा गैह्रापाटन वरपर वितरण गरेको बताइएको छ । “कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि यसको जोखिम उच्च रहेकोले यसबारेमा जनचेतना जगाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो” त्यसै संस्थाका अध्यक्ष कोइरालाको भनाई छ । ।
कास्की जिल्ला भर कार्य क्षेत्र रहेको सो सहकारी संस्थाले बचत तथा ऋण कारोवारका अतिरिक्त बाख्रा पालन सहितको कृषि फार्म सञ्चालन गरी बहुउद्देश्यीय कार्य गरिरहेको छ । आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उक्त संस्थाले केही समय अगाडि आफ्ना शेयर सदस्य रहेका कृषकहरुलाई ६ बेरसम्म जन्मेका पाठापाठी अधिया हुने र त्यसपछि जन्मेका पाठापाठी र माऊ सम्बन्धित सदस्यकै हुने गरी वीमा गराएर बाख्रा वितरण गरेको थियो ।
हाल त्यस संस्थामा शेयर सदस्य १ हजार २ सय ५७ जना र शेयर पूँजी रु.१० करोड रहेको छ भने उसले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न प्रयोजनका लागि रु.१ अर्व १७ करोड कर्जा लगानी गरेको जनाएको छ ।