बुटवलमा आज मेगा बैंक नेपाल लिमिटेडको भवन उद्घाटन

नेपाल राष्ट्र बैंकबाट क श्रेणीको स्वीकृति प्राप्त मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलको मिलनचोकमा रहेको आफ्नै जग्गामा नवनिर्मित अत्याधुनिक भवन उद्घाटन गरी त्यहाँ बुटवलको पुष्पलाल पार्कमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको बताइएको छ । सो भवनको प्रदेश नं.५ का मुख्य मन्त्री शंकर पोखरेलले एक समारोहका वीच उद्घाटन गर्नु भएको थियो । उहाँले मेगा बैंक नेपाल लि. ले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेगा बैंक नेपाल लि.का अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंक नेपाल लि. ले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याउन सकेको र यसले आफ्नो पञ्चवर्षीय रणनीतिक कार्ययोजना अनुसार आफ्नो भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने बताउनुभयो ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले यस बैंकमा पश्चिमाञ्चल विकास बैंकको मर्जर भएदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंक नेपाल लि.को कारोबार उत्साहजनक भइरहेकोमा यसमा गण्डकी विकास बैंक लि. मर्ज भएपछि झन दरिलो हुने विश्वास व्यक्त गर्नुभयो । ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर थापा, उक्त बैंकका सञ्चालक समितिका सदस्यहरु गोपाल खनाल, मदन आचार्य, डा. इन्द्रबहादुर मल्ल ठकुरी, शिवादेवी काफ्ले तथा नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा बुटवल क्षेत्रका उद्यमी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरु, कर्मचारीहरु लगायतको सहभागिता थियो ।
बैंकले हाल १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम , ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र ३ हजार भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।