नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त, लकडाउनको समयावधि बैशाख ३ गतेसम्म बढ्यो
नेपाल सरकार , मन्त्रीपरिषदको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको रिक्त रहेको गभर्नर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालको पदावधि सकिएसँगै डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कार्यबहाक गभर्नरको रुपमा काम गर्दै आउनु भएको थियो । उर्जा आयोगको अध्यक्ष समेत रहेर काम गर्नु भएका चार्टर एकाउण्टेन्ट अधिकारीले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर भएर काम गरी सक्नु भएको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीलाई नेफ्स्कून लगायतका विभिन्न संघ/संगठनहरुले बधाई ज्ञापन गरेका छन् ।
यसैगरी नेपाल सरकार , मन्त्रीपरिषदको सो बैठकले यही चैत्र ११ गतेदेखि देशभर जारी लकडाउन पुन: दोस्रो पटक ८ दिन थप गरी २०७७ बैशाख ३ गतेसम्म गर्ने निर्णय गरेको जनाइएको छ । भारतमा २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय तय भएकोले नेपालमा पनि सो अवधिसम्म लकडाउनको समयावधि बढ्ने आँकलन गरिदै आएको थियो । निरन्तरको लकडाउनका कारण दैनिक रोजगारी गरेर परिवारको लालनपालन गर्नेहरुलाई समस्या परिरहेको छ भने बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिएर सानोतिनो उद्योग तथा व्यापार व्यवसाय गरिरहेका साना उद्यमी तथा व्यवसायीलाई कर्जाको नियमित किस्ता र व्याज कसरी तिर्ने भन्ने समस्याले सताउदै गएको देखिएको छ । यसैगरी निरन्तरको लकडाउनले गहुँ लगायतका पाकेको बाली भित्र्याउन किसानहरुलाई समस्या परिरहेको छ । यसैकारण बजारमा महङ्गी बढेको छ तर किसानहरुले उत्पादन गरेका दूध , तरकारी राम्रोसँग विक्री हुन सकिरहेको छैन ।
यता तीनै तहका सरकारले स्थापना गरेको राहत तथा प्रकोप व्यवस्थापन कोषमा विभिन्न व्यक्ति , राजनीतिक दल तथा संघ/संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ । यसैक्रममा नेपाल सरकारलाई नेपाली काँग्रेसले रु.४५ लाख बराबरको सहयोग गरेको छ भने नर्भिक इन्टरनेशनल हस्पिटल, थापाथलीले रु.६० लाख र उद्योगपति बशन्तलाल चौधरीले रु.६० लाख बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरस(COVID-19) को संक्रमण नेपालमा ९ जनालाई भएपनि १ जना पूर्ण रुपमा ठिक भई सकेकोले तथा बाँकी ८ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था पनि सामान्य रहेको बताइएको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण भएका ३ जना मध्ये कैलालीकी १ जना ३४ बर्षीया महिला बाहेक अरु सबै विदेशी भूमिबाट हालै फर्केका हुन् भने कैलालीकी ती ३४ बर्षीया महिलामा भने विदेशी भूमिबाट फर्किएका व्यक्तिहरुबाट कोरोना भाइरस संक्रमण भएको बताइएको छ । स्थानीय ती महिलामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको बताइदैछ ।
विरोध हुँदाहुदै पनि नेपाल सरकार , मन्त्रीपरिषदको यस अगाडिको बैठकबाट चीनबाट स्वास्थ्य सामाग्री खरीदको जिम्मेवारी पाएको नेपाली सेनाले विदेशी राजदुताबासहरु मार्फत स्वास्थ्य सामाग्रीको मूल्य बुझ्न थालेको जानकारी प्राप्त भएको छ ।
उता गत शनिवार बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले बागलुङ , कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको परीक्षणलाई तिब्रता दिने निर्णय गरेपनि त्यो त्यत्ति प्रभावकारी बन्न सकेको छैन । काठमाडौंको टेकु स्थित राष्ट्रिय प्रयोगशाला सहित देश १० स्थानबाट कोरोना भाइरस संक्रमण परीक्षण भईरहे पनि आजसम्म २ हजार हाराहारीका विरामीको मात्रै कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
यस्तै यही चैत्र ११ गतेदेखि देशभर भइरहेको लकडाउनलाई छिटफुट बाहेक अधिकांश नागरिकहरुले पालना गरिरहेका छन् । लकडाउन उलंघन गर्ने व्यक्ति तथा पास विना चलाइएका सवारी साधनहरुलाई प्रहरीले दैनिकजसो प्रकाऊ गरी कारवाही गरिरहेको छ ।
यसबेला सम्म विश्वभर १३ लाखको हाराहारीमा मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका ,साँढे ७० हजारभन्दा बढीको ज्यान गएको र ३ लाखको हाराहारीमा कोरोना भाइरसबाट संक्रमित विरामीहरु उपचारपछि निको भएका छन् ।
यस्तैगरी संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित चिडिया घरमा रहेको बाघलाई कोरोना भाइरस संक्रमण भएको सञ्चार माध्यमहरुले जनाएका छन् । यसबाट जनावरबाट पनि कोरोना भाइरस संक्रमण हुन सक्ने देखिको छ ।

