महामारीपछि बित्तीय सहकारीका सम्भावित चुनौती र अवसरहरु

0 Shares

– कृष्णप्रसाद आचार्य, प्रमुख कार्यकारी अधिकृत, सामूहिक साकोस, भक्तपुर तथा
पूर्व तालिम अधिकृत, नेफ्स्कून
एवं सहकारी प्रशिक्षक

चीनबाट सन २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरस (COVID-19) का कारण हाल बिश्व नै आक्रान्त बनेको अवस्था छ । यो धर्तीको सर्वश्रेष्ठ प्राणी मावनले सबै कुरालाई जितेर आजको शताब्दीसम्म आईपुग्दा मानिसले जित्न नसक्ने कुनै पनि कुरा छैन भनी प्रमाणित हुदै गईरहेको अवस्थामा मानिसको आँखाले समेत देख्न नसक्ने शुक्ष्म जिवाणुको संक्रमणबाट बच्न मावन जाती हाल घर भित्र आफै नजरबन्दमा बस्नु परेको अवस्था छ । बिश्वका अधिकांश मुलुकहरु हाल लकडाउन ( बन्दाबन्दी) मा छन् । नेपाल पनि हाल लकडाउन (बन्दाबन्दी) मै रहेको छ । अत्यावश्यक सेवा बाहेक पूरा देशका शहरहरु सुनसान छन् भने आर्थिक गतिविधि समेत ठप्प जस्तै छन् । यो लकडाउन (बन्दाबन्दी) को समय अझ कति समय थप हुदै जाने हो त्यसको समेत अनुमान गर्न सकिने अवस्था छैन । जबसम्म यस भाइरसको संक्रमण पूर्ण रुपमा रोकिदैन , तबसम्म घरभित्र नै बसी अत्यावश्यक कामका लागि निस्कनु परेमा सामाजिक दुरी कायम गर्नु नै यसको रोकथामको उत्तम उपाय हो ।
यस्तो बिषम परिस्थितिमा बित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुलाई यसको प्रत्यक्ष असर परेको छ । यस कोरोना भाईरसबाट बच्नका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री जस्तैः माक्स, पञ्जा तथा सेनिटाईजर आदिको अभावका कारण यस बिषम परिस्थितिमा समेत
आफ्ना सदस्यहरुलाइ सेवा प्रदान गर्न चाहाने सहकारी संस्थाहरुले समेत सेवा दिन सकेका छैनन् भने अर्कोतिर संस्थाका कर्मचारीहरुलाई आवतजावत गर्न सहज रुपमा अनुमति समेत सम्बन्धित निकायले दिने गरेको छैन । यो परिस्थिति पछि बित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुले सामना गर्नुपर्ने चुनौती र ती चुनौतीहरु सँगसँगै आउने अवसरहरुको बारेमा चर्चा गरौ ।
चुनौतीहरु :
१. तरलता संकट : यो लकडाउनको अवधि समाप्त भई सामान्य अवस्था आएपछि सदस्यहरुको अत्यधिक बचत फिर्ताको माग बढ्नेछ भने ऋणको समेत अत्याधिक माग आउने देखिन्छ । यो तरलताको समस्या आउन सक्ने कुरालाई सबै बित्तीय सहकारीहरुले आंकलन गरी संस्थामा भएको बचतको आधारमा राख्नुपर्ने सामान्य अवश्थाको तरलता दरभन्दा केही बढी नै व्यवस्थापन गर्न सक्नु पर्दछ ।
२. ऋणमा अत्यधिक भाखा नाघ्ने : लकडाउन (बन्दाबन्दी) पछि बिश्व अर्थतन्त्र नै आर्थिक मन्दीमा जान सक्ने बिश्लेषणहरु भईरहेको सन्दर्भमा त्यसको चपेटाबाट नेपाल पनि अछुतो रहन सक्दैन । तसर्थ: सामान्य अवस्था आएपनि आर्थिक गतिविधिमा सहजता आउनका लागि अर्को एक वर्षभन्दा बढी लाग्ने बिज्ञहरुले अनुमान गरेका छन् । सम्पूर्ण उद्योग,
कल-कारखाना, ब्यापार, व्यवसायहरु नियमित अवस्थामा सूचारु हुन समेत सयम लाग्ने हुन्छ ।
तसर्थ: संस्थाबाट लगानी गरेका ऋणमा नियमित किस्ता तिर्न सक्ने सदस्यहरुको अवस्था रहदैन ।
३. बचतमा कमी : लामो समयको लकडाउन (बन्दाबन्दी) पछि सदस्यहरुले बचत जम्मा गर्ने सम्भावना केही समयसम्म नरहने तथा जम्मा गरेको बचत रकम समेत झिक्ने अवश्था आउनेछ ।
४. आर्थिक मन्दी : बिश्वमा नै आर्थिक मन्दीको अवस्था आउनेछ र जसको प्रत्यक्ष असर हाम्रो जस्तो
देशलाई पर्नेछ । यसबाट हाम्रा सदस्यहरुको आर्थिक कारोवारमा कमी आई सहकारीको बचत बृद्धि लगायतको सम्पूर्ण कारोवारमा प्रत्यक्ष असर पर्नेछ ।
५. ऋणी सदस्यहरु पलायन हुने सम्भावना :
सहकारी संस्थाबाट ऋण दिई कुनै व्यापार/ व्यावसाय गरिरहेका सदस्यहरुको व्यवसाय धारासायी भई हाल बसेको स्थानबाट नै पलायन हुने अर्को ठूलो चुनौती पनि हाम्रो सामू रहेको छ ।
६. रेमिटान्समा कमी : अधिकांश ग्रामिण क्षेत्रमा सहकारी संस्थाबाट ऋण लिई बैदेशिक रोजगारीका लागि गएका मानिसहरुको काम समाप्त भई वा कम्पनी बन्द भई रेमिटान्समा अत्याधिक कमी आउने भएकोले यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर सहकारी क्षेत्रमा पर्ने देखिन्छ ।
७. बेरोजगारी समस्या : स्वदेश तथा बिदेशमा काम गरिरहेको धेरै मजदुरहरुको हाल भैरहेको लकडाउन ( बन्दाबन्दी) मा उद्योग, कल-कारखानाहरु बन्द भई कामबाट निकालिएको अवस्था छ । यो क्रम अझै बढ्ने सम्भावना समेत रहेको छ भने बैदेशिक रोजगारीमा
जानेहरुलाई त्यहाँको सरकारले आफ्नो देश फर्कनका लागि अनुरोध गरिरहेको अवस्थामा ती सबै मानिसहरु नेपाल फर्कनु पर्ने अवस्था आएमा बेरोजगारी समस्या
झन बिकराल हुने देखिन्छ ।
८. स्वास्थ्य समस्या : लामो समयको लकडाउन (बन्दाबन्दी) खुलेपछि मानिसहरुको आवतजावत बढी हुने, काम गर्ने शैलीमा परिवर्तन हुने, प्रदुषण बढ्ने आदि कारणहरुबाट स्वास्थ्यमा अनेकन समस्याहरु आउने देखिन्छ । यसका लागि सदस्यहरुलाई धेरै आर्थिक भार पर्न जाने छ , जसको असर सहकारीको कारोवारमा समेत पर्ने देखिन्छ ।
९. मूल्यबृद्धि तथा भोकमरी : देशमा मूल्य बृद्धिको अवस्था आउने कुरामा कुनै दुईमत नै छैन । यसको प्रत्यक्ष असर बित्तीय कारोवार गर्ने सहकारी संस्थामा समेत पर्न जान्छ । साथै दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश मानिसहरुले खान नपाउने अवश्थामा पुग्ने र
देशका भूमिहीन, मजदुर लगायत अति बिपन्न बर्गमा भोकमरीको समस्या समेत देखिन सक्छ ।
१०. सुरक्षा चुनौती : जब राज्यमा आर्थिक मन्दी, भोकमरी, मूल्यबृद्धि जस्ता कुराहरु हुन्छन्, तब चोरी
ढकैती , लुटपाटका घटनाहरु बढ्ने भएकोले सुरक्षा चुनौती समेत आउनेछ ।
११. सानो पूँजी हुने सहकारी संस्थाहरुलाई संकट :
लकडाउन (बन्दाबन्दी) पछिको अवस्थामा सदस्यहरुलाई तरलता व्यवस्थापन गरी एकैपटक धेरै संख्यामा बचत फिर्ता तथा अत्यधिक ऋणको मागलाई धान्न नसक्ने
सहकारी संस्थाहरुलाई ठूलो संकट हुने देखिन्छ ।
१२. प्रविधिको प्रयोग गर्न नसक्दा आर्थिक भार :
अबको बित्तीय सहकारीहरुको अर्को टड्कारो चुनौती भनेको आधुनिक प्रविधि नै हो । सानो पूँजी तथा ग्रामिण समुदायमा चलेका सहकारी संस्थाहरुले आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने अवस्था छैन भने आधुविक प्रविधिको प्रयोग गर्न सक्ने सहकारी
संस्थाहरुका लागि समेत प्रविधिको प्रयोगका लागि आर्थिक भार हुने देखिन्छ ।
१३. सदस्यता त्याग्ने दरमा बृद्धि : मानिसहरुले जुन संस्थाबाट आधुनिक तथा नविनतम सेवा प्राप्त गर्दछ ,त्यही कारोवार गर्ने हुन्छ । जुन सहकारी संस्थाले समयानुकूल आफूलाई प्रविधिमैत्री र सुविधा सम्पन्न
बनाई अगाडि बढाउन सक्छ , त्यही सहकारीले मात्र आफ्ना सदस्यहरुलाई जोगाई राख्न सक्नेछन् ।

ऐमाथि उल्लेखित बिभिन्न चुनौतीहरु आउन सक्ने अनुमान गरिएपनि यदि
चुनौतीहरुको सामना गर्दे अगाडि बढ्न सकेमा निम्न अनुुसारका अवसरहरु समेत रहेका छन् ।
अवसरहरु :
१. वितीय सेवा तथा आधुनिक प्रविधिको प्रयोग गर्न सकिने : चुनौती सँगसँगै अवसरहरु पनि आउने गर्छन् । अव सबै सहकारीहरु प्रविधिमा जानुपर्ने बाध्यता नै भएकोले प्रविधिको बिकास र बिस्तारका लागि ठूलो अवसरको समय आएको छ । प्रविधिका लागि सेवा प्रदायक कम्पनीहरुलाई समेत फाईदा हुने र सदस्यहरुले समेत
बैंक तथा बित्तीय संस्थाहरुले जस्तै सेवाहरु प्राप्त गर्ने अवसर रहेको छ ।
२. सहकारी मार्फत कृषि तथा स्थानीय उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर : आधुनिक कृषि मार्फत बिषादीरहित अर्गानिक खेती गर्न सकेमा त्यसको माग प्रचुर रहेकोले सदस्यहरुलाई कृषिमा लगानीका लागि अग्रसर गराउन सकिने अवसर रहेको छ । साथै स्थानीय उत्पादनहरुको समेत माग बढ्ने भएकोले यस क्षेत्रमा समेत ऋण लगानी गर्ने अर्को राम्रो अवसर रहेको छ ।
३. सहकारी मार्फत स्वास्थ्य क्षेत्रमा लगानीको अवसर : मानिसको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा रहेछ भन्ने कुराको चेतना अहिले सबैमा आएको छ । तसर्थ: सदस्यहरुलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि
सहकारीहरुलाई अर्को अवसर रहेकोछ ।
४. मितव्ययितामा बृद्धि : सदस्यहरुमा फजुल खर्चमा कटौती गरी बिषम परिस्थितिका लागि बित्तीय साक्षरता तथा बिभिन्न सचेतना कार्यक्रमहरु मार्फत बचतको महत्व बुझाउन सकेमा बचत बृद्धिको राम्रो अवसर समेत देखिन्छ ।
५. सहकारी मार्फत पर्यटन क्षेत्रमा लगानीको अवसर : नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको हामी सबैलाई थाहा भएको कुरा नै हो । यदि हाम्रा सदस्यहरु मार्फत पर्यटन क्षेत्रमा लगानी गर्न सकेमा यसले
बेरोजगारीको समस्या कम गर्ने, बिदेशी मुद्रा आर्जन तथा समग्र देशको अर्थतन्त्रमा समेत योगदान पुग्ने अवसर रहेको छ ।
६. बिदेश पलायनमा कमी : हालको यो बिषम परिस्थितिमा मानिसहरु परिवारबाट छुट्टिएर एकान्तबासमा बिदेशी भूमिमा बस्नु परेको पीडाका कारण नेपालमै आई केही गरौँ भन्ने भावनमा बृद्धि
हुनेछ, जसका कारण सहकारी मार्फत साना तथा मझौला उद्योगहरुमा लगानी गर्न सकिने,आत्मनिर्भरतामा बृद्धि हुने, स्वदेशमा नै रोजगारीको अवसरहरु सिर्जना हुने देखिन्छ ।
७. सहकारी एकीकरणको अवसर : देशमा आउने आर्थिक संकट, तरतलाको अभाव, प्रविधिमा जानुपर्ने बाध्यता, दक्ष कर्मचारीको अभाव, सदस्यता त्यागी सुविधायुक्त संस्थामा सदस्यहरु जाने क्रम जस्ता
कारणले अबको अवस्थामा सानो, छरितो, सुन्दर र आफ्नै सहकारी होइन – ठूलो, सक्षम, गुणस्तरीय र बिशाल सहकारी निर्माणका लागि एकीकरण एकमात्र उत्तम बिकल्प रहेको छ ।
८. दक्ष र प्रविधिमैत्री व्यवस्थापनको बिकासको अवसर : अव हरेक सहकारी संस्थाहरुले बिद्युतीय कारोवार तथा नयाँ-नयाँ प्रविधिहरुको प्रयोग अनिवार्य गर्नै पर्ने भएकाले त्यसका लागि दक्ष र प्रविधि चलाउन सक्ने कर्मचारीहरुको बिकास भएमा थप रोजगारीका अवसरहरु देखिन्छन् ।
९. समुदायमा आधारित हुने : सहकारी संस्थाका नाममा बिभिन्न बिकृति तथा बिसंगतिहरुको सामना गरिरहेको सहकारी क्षेत्रमा अव समुदायमा आधारित भई सेवा प्रवाह गर्न सकेमा मात्र अभियानमा टिकीरहने
अवस्था आएको छ । सदस्यहरुले आफ्नोपन प्राप्त गर्न सकेमा मात्र बिषम परिस्थितिमा समेत साथ दिने भएकोले सहकारीको भावना, मूल्य, मान्यता र सिद्धान्तमा आधारित भई सहकारी संस्था सञ्चालन गर्नका लागि सबैलाई यो महामारीले एउटा पाठ भने अवश्य सिकाउने छ ।
अन्त्यमा, अत्याधुनिक प्रविधिको प्रयोगबाट बिद्युतीय भुक्तानीमा जोड दिनुपर्ने अबको आवश्यकता रहेको ओछ । सहकारी एकीकरण मार्फत ठूलो र बिशाल सहकारी
मार्फत सदस्यहरुका हरेक बित्तीय आवश्यकताहरु समाधान गर्नुपर्नेछ । यस्ता संकटका बेलामा समेत निरन्तर बित्तीय सेवाहरु प्रदान गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेछ । अबका युवा पुस्तालाई आकर्षण गर्न सक्ने बस्तु तथा सेवाहरुको बिकासका लागि
संस्थाहरुले सोच्नुपर्ने बेला आएको छ ।

………………………………….

Leave a Reply