विपदमा सहकारीको वित्तीय सेवा व्यवस्थापन र यसका चुनौती

0 Shares

-बालकृष्ण धोजु

भन्छन् विपद कुनै बाजा बजाएर आउदैंन । संसारमा विपद एक पछि अर्को आइरहेको हुन्छ । यसको रुप र स्वरुप मात्र फरक हुन्छ । हाल विश्वमा कोराना (COVID-19)भाइरसको संक्रमणको त्रासमा छ । भाइरसबाट लाखौं मानिस संक्रमित छन् । संक्रमित हुने क्रम बढ्दो छ । संक्रमणबाट लाखौं व्यक्ति निको पनि भइरेका छन् भने मृत्यु पनि भइरहेको छ तर तथ्यांकले
संक्रमणबाट मृत्यु हुने भन्दा तीन/ चार गुणा कम निको भएको देखाएको छ । हालसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन
। विश्वभर यस भाइरसको संक्रमणबाट बच्न बचाउन विभिन्न उपायहरु अपनाइरहेका छन् । भाइरसको रोकथाम तथा नियन्त्रणको उत्तम विकल्प बन्दाबन्दी (Lockdown)को अभ्यासलाई विश्वले अबलम्बन गरिरहेको छ । नेपालले पनि यही अभ्यासलाई
अबलम्बन गरेको एक महिना भन्दा बढी भइसकेको छ ।
यो भाइरस संक्रमणको संख्यालाई हेर्दा बन्दाबन्दीको
अभ्यासले रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको देखिन्छ ।
बन्दाबन्दीका कारण विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा ठप्प छन् । अरबौँ सक्रिय मानव संसाधन प्राय: निष्क्रिय अवस्थामा छन् । करोडौ मानिसहरु बेरोजगार भइरहेको छन् । अझ नगदमा आधारित अर्थतन्त्र
भएको राज्यका लागि बन्दाबन्दी कठिन अवस्था हो । नेपालको अर्थतन्त्र नगदमा आधारित छ । नेपालले बन्दाबन्दीको अवधिमा बैंकलाई अति आवश्यक सेवाको सूचिमा राखिएको छ । बैंकले सिमित सेवा पनि सबै शाखाले नियमित दिन सकिरहेको छैन । बैंकको सिमित सेवा पनि अपूर्ण देखिन्छ । साथै बैंकको बैंकिङ पहुँच नपुगेका नागरिकले स्थानीय सहकारी संस्थाबाट सेवा
लिइरहेको देखिन्छ । सहकारीलाई सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिइरेको अवस्था छैन तर सहकारी विभाग र प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरी सिमित सेवा नियमित सञ्चालन गर्न अनुरोध गरिरहेको छन् ।
सहकारी स्वनियम र स्वउत्तरदायित्वमा सञ्चालित स्वायत्त संस्था हो । अन्तर्राष्ट्रिय सहकारी मुल्य , मान्यता र नियम कानुनलाई पालना गदै समुदायमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारी सञ्चालित हुन्छ । विपद्को समयमा पनि सदस्य र समुदायको हितको लागि सहकारी सक्रिय रहेको छ । सहकारीले नेपाल सरकारले घोषण गरेको बन्दाबन्दीको स्वागत गरेको छ । यस विषम परिस्थितिमा सदस्य
र समुदायलाई निरन्तर सुरक्षित वित्तीय सेवा प्रदान गर्नु व्यवस्थापनका लागि एउटा चुनौती बनेको छ । त्यसका बाबुजुद पनि वित्तीय सहकारी संस्थाहरुले सदस्यलाई सुरक्षित सेवा प्रदानका लागि तपसिलका असल अभ्यास तथा विधिहरु विकास गरी सेवा व्यवस्थापन गरेको छ ।

१) समय अनुकूल आंशिक कार्यालय सञ्चालन विधि :
बन्दाबन्दीको समयमा स्थानीय तह तथा प्रशासनको समन्वयमा अतिआवश्यक सेवाको लागि घर बाहिर निस्कन अनुमति दिएको समयमा संस्थाको आंशिक कार्यालय सञ्चालन गर्न सकिन्छ । यस विधिबाट अति आवश्यक सेवा लिन दिन सदस्य र संस्थालाई
सहज हुन्छ । समुदायमा आधारित र भौगोलिक रुपमा सहज भएको क्षेत्रमा यो विधि अति प्रभावकारी देखिन्छ । कर्मचारीलाई आलोपालोको प्रणाली विकास गरी आंशिक कार्यालय सञ्चालन मार्फत अतिआवश्यक सेवाहरु सुरक्षित उपायहरु अबलम्बन गरी दिइरहेको छ ।
२) प्रविधिमा आधारित सेवा विधि : वित्तीय सहकारी संस्थाले समय अनुसार नीति, विधि र प्रविधि अपनाएका छन् । संस्थाले सदस्यको कारोबारमा सहजताका लागि इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एटीएम(ATM) र अन्य ई-सेवाका उच्च प्रविधि मार्फत सेवा दिदै आएको छ । बन्दाबन्दीको अवधिमा यी प्रविधिहरुको प्रभावकारी सञ्चालनबाट सदस्यले टेलिफोन महशुल, खानेपानीको महशुल, मोबाइल, विद्युत महशुल
घरमै बसी भुक्तानी गर्न सक्छन् । अति आवश्यक सामानहरु खाद्यान्न, औषधि र लत्ताकपडा खरिद अनलाइन मार्फत गर्न सकिन्छ । एउटा बैंकको खाताबाट अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न सक्छ । यो इन्टरनेटमा आधारित सेवा भएकोले इन्टरनेट पहुँच भएका सहकारी र सदस्यले मात्र यस मार्फत वित्तीय सेवा दिन र लिन सक्छ । यस अर्थमा सहरी क्षेत्रको
सहकारीलाई प्रविधिमा आधारित सेवा प्रभावकारी हुन्छ तर ग्रामिण क्षेत्रका वित्तीय सहकारीका लागि प्रविधिमा आधारित सेवा विधि अबलम्बनमा चुनौती रहेको छ ।
३) व्यक्ति-व्यक्ति वित्तीय सेवा विधि : यस विधि अनुसार सहकारीले कार्यक्षेत्र अनुसार सम्पर्क व्यक्ति तोक्छन् । ती तोकिएका व्यक्तिलाई सहकारीले सिमित
रकम भुक्तानीको लागि रकम उपलब्ध गराएको हुन्छ । सदस्यले आफूलाई पायक पर्ने व्यक्तिहरुलाई टेलिफोन तथा अन्य माध्यमबाट सम्पर्क गरी सिमित वित्तीय सेवा प्राप्त गर्न सक्छन् । यो विधिले कार्यक्षेत्रको सबै सदस्यलाई सेवा पु-याउन सहज हुन्छ तर यस सेवामा खाता व्यवस्थापनमा चनाखो हुनुपर्छ । कारोबार गर्ने सदस्यको पहिचान, कारोबार गर्ने खातामा रकम रहे नरहेको निश्चिता र कारोबारको व्यवस्थित लेखाँकनमा व्यवस्थापनले विशेष ध्यान पु-याउनुपर्ने देखिन्छ ।
४) सुरक्षित घर दैलो सेवा विधि : यो विधि सहकारी संस्थाका कर्मचारी सुरक्षित सदस्यको घर-घरमै गई सेवा दिने विधि हो । यस विधि अन्तर्गत सदस्यको नियमित बचत तथा व्याज र साँवा संकलनका साथै कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतना सन्देश प्रबाह गर्न सकिन्छ । यस विधिबाट आवश्यक
सदस्यलाई सिमित रकम पनि घर घरमै पु-याउन सकिन्छ । सिमित कार्यक्षेत्र र सदस्य संख्या कम भएका सहकारी संस्थाको लागि यो सहज, सजिलो र प्रभावकारी हुन्छ तर कार्यक्षेत्र र सदस्य धेरै भएका सहकारी संस्थाका लागि यो विधिबाट सेवा पु-याउन कठिन हुन्छ ।
५) निश्चित समय र स्थान तोकी सेवा दिने विधि : यस विधि अनुसार सदस्यले संस्थामा आवश्यक सेवाको लागि टेलिफोन मार्फत सम्पर्क गर्दा सेवाका लागि निश्चित समय र स्थान तोकी सेवा दिइन्छ । संस्थाको कर्मचारी आफै गई सेवा दिने भएकोले सुरक्षित समय र स्थानमा सेवा प्रवाहमा यस विधिबाट सुनिश्चित हुन सकिन्छ । यो विधि कम सदस्य भएको र भौगोलिक रुपमा टाढा भएका सदस्यलाई उपयोगी हुन्छन तर समय आधारमा यो सेवा विधि बढी महंगो पर्छ ।

समुदायमा आधारित वित्तीय सहकारी संस्थाहरुले उल्लेखित सेवा विधिहरुमध्ये पायक पर्ने विधि अनुसार विषम परिस्थितिमा पनि सेवाको व्यवस्थापन गरिरहेको छन् । स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा ती सेवाहरु व्यवस्थापन प्रभावकारी हुने देखिन्छ तर संघीय, प्रदेश र स्थानीय तह बीच समन्वय नहुँदा वित्तीय सहकारीको सेवा सहज ढंगबाट पु-याउन कठिन भएको छ । बन्दाबन्दीमा बैंक तथा वित्तीय संस्थाहरु खोल्न सरकारले अनुमती दिएको छ तर बैंक तथा वित्तीय संस्थाहरुले यस बेला सेवा दिन सकिरहेको छैन । बैंकले आफ्नो ग्राहकलाई सेवा दिने भएकोले होला बैंक यतिबेला ग्राहकलाई गर्ने व्यवहार नै गरिरहेको छ । उसले आफ्नो दायित्व मात्र पूरा गर्ने तरिकाले सिमित शाखा सञ्चालन गरी सिमित कारोबार मात्र गरिरहेको छ । अर्को शब्दमा भन्ने हो भन्ने झाडा टार्ने कार्य मात्र गरिरहेको देखिन्छ ।
वित्तीय सहकारी संस्थाहरुले प्रदान गर्ने सेवा बैंकले दिने सेवासँग प्रभावित हुन्छ । सहकारी संस्थाको तरलता बैक वित्तीय संस्थामा रहने भएकोले बैंकले प्रयाप्त मात्रामा सेवा दिएमात्र सहकारी संस्थाले आफ्नो प्रभावकारी सेवा दिन सकिने देखिन्छ । तसर्थ: यस परिस्थितिमा वित्तीय सहकारी संस्थाहरुले आफ्नो तरलताको रकम आफ्नै सञ्जालमा राख्ने अभ्यासमा जोड दिनुपर्ने देखिन्छ । हाल बैंकले दु:खको घडीमा पनि बचतमा व्याजदर घटायो तर सहकारीले बचतको व्याजदर यथावतै राख्यो । स्वाभाविक रुपमा बैंक आफ्नो नाफामा केन्द्रित हुन्छ । उसले त्यही अनुसारको व्यवहार देखाउनु कुनै नौलो कुरा भएन । सहकारी संस्था सेवामुखी व्यवसायलाई जोड दिन्छ । यी व्यवहारले सहकारी र बैंकको फरक छुट्याई दिएको छ । यसले
सहकारी सुख र दु:खको सारथी हो भन्ने कुरा पुष्टि गरेको छ । यस विपदलाई सहकारीले अवसरको रुपमा ग्रहण गरी वित्तीय सेवा व्यवस्थापन गरी चुनौतीको सामना गरी रहेको छ । यस चुनौतीलाई सहज बनाउन सम्बन्घित निकायहरु एकजुट भई समन्वय र सहकार्य गर्नु पर्ने देखिन्छ ।
(धोजु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरका व्यवस्थापक हुनुहुन्छ ।)

………………………………….

Leave a Reply