कोभिड १९ ले निम्त्याउन सक्ने आर्थिक मन्दी

0 Shares

-केशवप्रसाद पोखरेल , नि:बर्तमान कोषाध्यक्ष , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)

के हो आर्थिक मन्दी ?
कुनै पनि देशको अर्थव्यवस्थामा रोकावट भई लगातार गिरावट हुन्छ । अर्थव्यवस्थाको विकास दर न्युन भएमा
या लगातार गिरावट आएमा र अन्तर्राष्ट्रिय स्तरमा बस्तु तथा सेवाको उत्पादनमा कमी आउने कारण वस्तुको मागमा कमी भई विक्रीमा गिरावट आई उत्पादन गर्ने कम्पनीमा ठूलो नोक्सान भई श्रम कटौति गरी वेरोजगारी बृद्धि हुने स्थिति आर्थिक मन्दी हो । व्यापार, रोजगारी र उपभोक्ताको स्तरमा आउने सुस्तता आर्थिक मन्दी हो ।
आर्थिक मन्दीको प्रभाव
१. धनको प्रवाहमा रोकावट
२. निर्यातमा गिरावट
३. क्रयशक्तिमा कमी/खरिद क्षमतामा कमी
४. वस्तु खरिद गर्न नसक्ने
५. औद्योगिक उत्पादनमा कमी
६. वेरोजगारी सृजना
७. ऋणको माग घट्नु
कोभिड १९ को प्रभाव : कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र जोखिममा पर्न गएको छ । आपूर्ति श्रृंखलामा भएको अवरोधका कारण ठूलो व्यापारिक साझेदारी मुलुकहरुका कम्पनी बन्द प्राय: भईसकेका छन् । कच्चा पदार्थको निर्यात नहुनु, निर्यात हुने वस्तुहरु ठप्प हुनु आदिको कारण प्रत्यक्ष रोजागारी र विश्वको होलसेल र खुद्रा व्यापारबाट रोजगार गुम्दै गएको छ । विश्व आपूर्ति पक्ष कमजोर हुँदा मुद्रास्फिति बढ्न जान्छ । यातायात उद्योग तथा कलकारखाना बन्द हुँदा तेल आयात बन्द हुने र यसको उत्पादनमा समेत कटौति हुन्छ ।
वित्तीय सहकारीमा प्रभाव :
१) वित्तीय प्रवाहमा रोकावट : लकडाउनको कारण बचत प्राप्ती, ऋण असुली र ऋण लगानीमा रोकावट भई वित्तीय प्रवाहमा प्रत्यक्ष प्रभाव पर्दछ ।
२) बचत क्षमतामा कमी : सदस्यहरुको पेशा तथा व्यवसायमा विक्री तथा खरिद क्षमतामा ह्रास आई बचत क्षमतामा कमी आउँछ, जसको कारण संस्थामा बचतको स्तर कम हुँदै जान्छ । अर्को कुरा लकडाउनको कारण सदस्यहरु संस्था सम्म आई बचत गर्न नसक्ने कारण पनि बचतमा कमी आउँछ ।
३) बचत फिर्तामा तीब्रता र तरलतामा असर : व्यापार व्यवसाय चौपट हुने हुनाले सदस्यहरुले संस्थामा राखेको पैसा झिक्ने एक मात्र विकल्प रहन्छ । वस्तुको उत्पादन र व्यापार प्रवाहमा रोकावटले वस्तुको मूल्य बृद्धि हुन्छ , जसको कारण सदस्यहरुलाई पैसाको खाँचो पर्दछ । सदस्यहरुले व्यापक रुपमा बचत फिर्ता गर्दा संस्थामा तरलता अभाव हुन्छ ।
४) ऋणको माग घट्नु : व्यापार व्यवसायको अवस्था चौपट हुने हुँदा सदस्यहरुले ऋणको माग गर्दैनन् । एकातिर संस्थासँग पैसा हुँदैन ,अर्कोतिर ऋण माग पनि हुँदैन, जसले गर्दा संस्थामा आम्दानीको स्तर घट्ने हुँदा संस्थाहरु मर्ने र बाँच्ने अवस्थामा पुग्दछन् ।
५) ऋण असुलीमा कमी र भाखा नाघेको ऋण बढनु : कोभिड १९ र लकडाउनका कारण पेशा, व्यापार, व्यवसाय, खरिद विक्रिमा पूर्ण असरले गर्दा सदस्यहरुको आम्दानीमा पूर्ण रुपमा गिरावट हुँदा लिएको ऋण तिर्न सक्ने अवस्था रहँदैन, जसले गर्दा संस्थाहरुको भाखा नाघेको ऋणको स्तर बृद्धि भई त्यसको सुरक्षण व्यवस्था गर्न नसक्ने अवस्था सृजना हुन्छ ।
६) भुक्तानी क्षमतामा कमी : सदस्यहरुको बचत फिर्ता गर्न चाहे जति सहकारीहरुले सक्दैनन् किनकी जाने मात्र हुने र आउने नहुँदा संस्थामा वित्तीय संकट सृजना हुन्छ । अर्कोतिर बैंकहरुले समेत भने जति बचत फिर्ता गर्न नसक्दा संस्थाहरुको भूक्तानी क्षमतामा ह्रास आउँछ ।
वित्तीय सहकारीहरूले तत्काल चाल्नुपर्ने कदम :
१) कर्मचारी भर्ना प्रक्रिया स्थगित : आर्थिक मन्दीको समयमा कर्मचारी पद सिर्जना गर्नुहुँदैन । वित्तीय संकटको कारण सहकारीहरुले आफ्नो सञ्चालन खर्च घटाउनुपर्ने हुन्छ । यदि कर्मचारीहरुको पद सिर्जना गरेको छ र भर्ना प्रक्रिया अगाडि बढाउन आँटेको छ भने सो लाई स्थगित गर्नुपर्छ ।
२) तरलता व्यवस्थापन : कोभिड १९ र यसको संक्रमणले सारा विश्व लकडाउनको अवस्थामा छ । यस्तो बेला संघ/ संस्थासम्म बचत आउने सम्भावना कम छ । बैंक तथा वित्तीय संस्थासम्म आउने कठिनाई र जोखिमले गर्दा सदस्यहरुले आफूसँग भएको रकम घरैमा राख्ने प्रवल सम्भावना रहन्छ । अर्कोतिर सदस्यहरुको व्यापार व्यवसाय चौपट भएका बेला कमाउने सम्भावना कम हुन्छ, जसले गर्दा बचत फिर्ताको सम्भावना तीब्र गतिमा हुन्छ । त्यसैले यस्तो वेला तरलता व्यवस्थापन गर्दा कुल सम्पत्तिको २० प्रतिशत र कुल बचतको २३ प्रतिशतसम्म तरलता व्यवस्थापन गर्नुपर्छ ।
३) ऋणको माग बृद्धि रणनीति : संस्थामा बचत भित्रिन सदस्यहरुसँग पैसा हुनुपर्दछ । पैसा प्राप्त गर्न व्यवसायिक हुनुपर्दछ । कोरोना महामारी र लकडाउनका कारण वित्तीय क्षेत्र धरासायी हुँदा बजारको बातावरण अनुकुल छैन । यस्तो वेला सदस्यहरुले बचत फिर्ता गर्ने सम्भावना हुन्छ । यसको लागि ऋण नीतिको रणनीति परिवर्तन गर्नुपर्छ । लगानी भइसकेका ऋणको समयावधि थप गरिदिने, हर्जना मिनाह गर्ने, भुक्तानी तालिकाको पुनर्तालिकीकरण गर्ने गर्नुपर्दछ । अब लगानी गर्दा ऋणको व्याजदर घटाउने, अल्पकालिन ऋण मात्र लगानी गर्ने, अनुत्पादक क्षेत्रको ऋणलाई स्थगित गर्ने गर्नुपर्दछ । जसले गर्दा ऋणको मागमा बृद्धि होस् ।
४) फरकता दरमा कमी : आर्थिक मन्दीको समयमा कम नाफामा गएपनि संस्था सञ्चालन गर्नुपर्दछ । ऋणको व्याजदर घटाउने र बचतको व्याजदर बढाई न्यून फरकता दरमा संघ/संस्था परिचालन गर्नुपर्ने हुन्छ ।
५) सञ्चालन खर्चमा कटौती : यस्तो अवस्थामा कर्मचारी खर्चदेखि बाहेक अन्य कार्यक्रमिक खर्चहरु, सुशासन खर्च, बजार खर्च घटाउनु उपयुक्त हुन्छ किनकी कम फरकता दरमा कारोबार गर्दा यसले मुनाफामा असर गर्दछ ।
६) बैंक तरलता रकममा सन्तुलन : विभिन्न बैंकहरुमा तरलता रकम राख्नुपर्दछ । केन्द्रीकृत बैंकिङ प्रणाली अर्थात एउटै बैंकमा पैसा राख्ने कुरालाई निरुत्साहित गरी विभिन्न बैंकहरुमा सन्तुलित ढंगले रकम राख्नुपर्छ किनकी यस्तो बेला बैंकहरुले समेत भनेजति तरलता फिर्ता गर्न सक्दैनन् ।
(नेफ्स्कून खबरबाट साभार)

Leave a Reply