आज आमालाई शुभकामना दिइदै , १४औँ लोकतन्त्र दिवस पनि मनाइदै
आज बैशाख कृष्ण पक्ष मातातीर्थ औंशी । सन्तानले आफ्नी माताहरुलाई सम्झना गरिरहेका छन् । सँगै तथा नजिकै रहेका सन्तानले आफ्नी मातालाई उपहार प्रदान गर्नुका साथै मिठा परिकार खुवाइरहेका छन् भने टाढा रहेका सन्तानले भने आमालाई फोन तथा सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् । आमा दिवंगत भएकाहरुले भने आफ्नी आमाको फोटो हेरेर आमालाई सम्झिरहेका छन् ।
विगतका वर्षहरुमा मातातीर्थ औंशीका दिन काठमाडौंको मातातीर्थमा मेला लाग्ने गरेपनि यस वर्ष भने कोरोना भाइरस कहरले भइरहेको लकडाउनले त्यहाँ मेला लागेन ।
यता सन्तानले अवहेलना गरेका कारण बृद्धाश्रम रहन विवश आमाहरु सन्तानलाई सुख समृद्धिको आर्शिवाद दिइरहेको देखिन्थ्यो ।
यता आजबाट ऐतिहासिक जन-आन्दोलन २०६२/०६३ सफल भएको १४ वर्ष पूरा भएको छ । आज औपचारिक कार्यक्रम नभएपनि १४औँ लोकतन्त्र दिवसको शुभकामना आदान प्रदान भइरहेको छ । नागरिकहरुले भने राजनीतिक दलहरुका नेताहरुले ऐतिहासिक जन-आन्दोलन २०६२)०६३ को मर्म र भावना आत्मसाथ गर्न नसकेको भन्दै उनीहरुको आलोचना गरिरहेका छन् । राजनीतिक दलहरुका नेताहरुले ऐतिहासिक जन-आन्दोलन २०६२/०६३ को समयमा नेपाली जनता समक्ष गरेका बाचा कबुल स्मरण गरी त्यसलाई व्यवहारमा लागु गरिनु पर्ने नागरिकहरुको जोड छ ।
