गोकर्णेश्वर नगरपालिका-८ ले ग-यो ज्याला मजदुरी गरी खाने वर्गका नागरिकहरुलाई खाना खुवाउने प्रवन्ध , आज सहभाव साकोस , बेंशीगाउँले खुवायो उनीहरुलाई खाना
खानेकुरा अभावले काठमाडौं उपत्यकाबाट आर्थिक विपन्न वर्गका नागरिक लकडाउन चलिरहेका बेला पैदलै हिडेर आफ्नो गाउँमा रहेको घर फर्किने क्रम चलिरहँदा हिजोबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले ज्याला मजदुरी गरी खाने वर्गका नागरिकहरुलाई खाना खुवाउने प्रवन्ध मिलाएको जानकारी प्राप्त भएको छ । सो कार्यलाई समर्थन गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, बेंशीगाउँमा रहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.ले ‘सामाजिक कार्यमा सहभाव’ भन्ने मूल मन्त्र अनुरुप आज आफ्नै खर्चमा ज्याला मजदुरी गरी खाने वर्गका नागरिकहरुलाई खाना खुवाएको उक्त संस्थाले जनाएको छ ।
त्यस अवसरमा सोही संस्थाका प्रवन्धक जगन्नाथ चालिसेले विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19)को संक्रमण हुनबाट जोगिन सबैलाई सचेत रही लकडाउन पालना गर्न आग्रह गर्दै कोरोना भाइरसबाट संक्रमित सबै विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।





२०७६ चैत्र ११ गतेबाट नेपाल सरकारले गरिरहेको लकडाउन उलंघनका छिटफुट घटना घटेपनि अधिकांश नागरिकहरुले लकडाउन पालना गरिरहेका छन् । नेपाल सरकारले कोरोना भाइरस परीक्षणलाई अभियानका रुपमा अगाडि बढाएको बताउदै आएको छ । यसबेलासम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ । यसमध्ये १ जना पहिले नै पूर्ण रुपमा सञ्चो भएको बताइएको छ भने काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया युवती र बागलुङ स्थित कोरोना उपचार अस्पतालमा उपचाररत ६५ वर्षीया महिला पूर्ण रुपमा निको भएर हिजो अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् भने सेती प्रादेशिक अस्पताल , धनगढीबाट कैलालीका २१ वर्षीय युवा निको भएर अस्पतालबाट डिस्चार्ज हुदै गरेको बताइएको छ । डाक्टर , नगर्न लगायतको माया र केयर तथा आफ्नो उच्च मनोबलका कारण आफूले विश्वभर तहल्का मच्चाएको कोरोनालाई जितेको उनीहरुले बताएका छन् भने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले हिजै ट्विट गरी उनीहरुको उपचारमा सम्लग्न डाक्टर , नर्श लगायतलाई धन्यवादँ ज्ञापन गर्नुभएको थियो । नेपालमा कोरोना संक्रमित बाँकी २७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । उता विभिन्न देशहरुमा २८ जना गैर-आवासीय नेपालीहरुको कोरोना भाइरसबाट मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

