उदयपुरमा थप ३ जनामा कोरोना पोजेटिभ पुष्टि , कोरोना संक्रमित थप २ जना विरामी निको भए
उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केमा थप ३ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ । आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा क्वारेण्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा ती ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ । उनीहरुलाई आइसोलेशनमा लगिएको जनाइएको छ । ती ३ जना थपिए सँगै भुल्केमा कोरोना भाइरस संक्रमितको संख्या २७ पुगेको छ भने देशभर कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको बताइएको छ । कोरोना भाइरस संक्रमित विरामीहरु मध्ये आज काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत धादिङका १ युवा र कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका १ युवा निको भएको समाचार प्राप्त भएको छ । कोरोना संक्रमित विरामीहरु मध्ये उपचारपछि यी २ जना सँगै निको हुनेको संख्या ७ पुगेको छ ।
यता हिजो काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्शमा आरडीटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपनि आज थप नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस नदेखिएपछि आज उनीहरु हस्पिटलबाट डिस्चार्ज भएका छन् ।
कोरोना भाइरस कहरका कारण नेपाल सरकारले लकडाउन गरिरहेको ३० दिन बितेको छ । राज्यका संयन्त्रले जिम्मेवारी राम्रो सँग बहन नगर्दा आर्थिक विपन्न मजदुरहरुको जीवन दर्दनाहक बनिरहेको छ । सरकार तथा केही सहकारी संघ/संस्थाहरु लगायतका विभिन्न संघ/संस्थाहरुले राज्यका सरकार मार्फत सहयोग गरेपनि त्यो पर्याप्त देखिएको छैन । होटल , सार्वजनिक यातायातका साधन ,उद्योग तथा व्यापार व्यवपार लगायत बन्द हुँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गरेका लगानीकर्ताहरुलाई कर्जाको किस्ता बुझाउने सकस परिरहेको देखिएको छ ।

