पछिल्लो २४ घण्टामा थपिएनन् कोरोना संक्रमित , राहत वितरणमा भइरहेको पक्षपातले असन्तुष्टि बढ्दै
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित विरामी नभेटिएको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो पर्शाका १ जना र बाराका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने ती मध्ये १६ जना पूर्ण रुपमा निको भएकोले विराटनगर स्थित कोरोना उपचार अस्पतालमा ३१ जना , नारायणी उप-क्षेत्रीय अस्पताल, वीरगञ्जमा ८ जना र चितवनको भरतपुर अस्पताल र धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा १/१ जना गरी ४१ जनाको कोरोना संक्रमित विरामीको उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
यता कोरोना कहरका कारण ३८औँ दिनको लकडाउनका जारी रहदा आज पनि काठमाडौं उपत्यका सहित देशका अधिकांश क्षेत्र सुनसान नै देखियो । लकडाउन
उलंघन गर्ने १५ सयभन्दा बढीलाई प्रहरीले कारवाही गरेको जनाइएको छ तर तरकारी बजार लगायतका पसलहरुमा नागरिकहरुको भिडभाड हुदा पनि त्यसलाई व्यवस्थापन गर्न राज्यको सम्बन्धित निकायले ध्यान दिन सकेको देखिएको छैन । यसले कोरोना नियन्त्रणमा समस्या पर्ने पो हो कि भनेर नागरिकहरुले चिन्ता व्यक्त गरेको पनि देखिएको छ ।
भारतबाट सवारी साधन चलाएर नेपाल आएका चालक लगायतको स्वास्थ्य परीक्षणलाई सरकारले जोड दिइरहेको छ ।
उता लकडाउनका कारण मारमा परेका विपन्न नागरिकहरुलाई स्थानीय तहहरुमा साथै विभिन्न व्यक्ति तथा प्रतिष्ठानहरु र सहकारी संघ/संस्था लगायतले राहत सहयोग गरिरहेका छन् । यीमध्ये विभिन्न स्थानीय तहहरुले राहत वितरणमा पक्षपात गरेको भनेर नागरिकहरुले असन्तुष्टि व्यक्त गरिरहेको देखिएको छ । नागरिकता हेरेर नभई व्यक्तिको अनुहार हेरेर साच्चिकै विपन्न नागरिकहरुलाई विना पक्षपात राहत सहयोग गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्की बताउनुहुन्छ । लकडाउनका वीचमा पनि मुलुकको अर्थन्तन्त्रलाई गतिशीलता प्रदान गर्न सम्भावित क्षेत्रहरुलाई चलायमान बनाउदै लानु पर्ने र उत्पादनमूलक काम गरिरहेका कृषकहरुलाई सहयोग गरी उनीहरुले उत्पादन गरेका तरकारी , फलफुल , अण्डा , दुग्ध पदार्थ लगायतका सामाग्री बजारसम्म पु-याउन सरकारले आवश्यक सहयोग गर्नु पर्नेमा उहाँको जोड छ ।

