ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट रु.७,६५, ७२,७०० क्ष्यति, २९ परिवार प्रभावित
हिजो राती ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा मानवीय क्ष्यति नभएपनि रु. ८ करोडको हाराहारीमा चल अचल सम्पति क्ष्यति भएको जानकारी प्राप्त भएको छ । फुङलिङ नगरपालिका वडा नम्बर ५, पुरानो बैंक लाइनमा भएको आगलागीबाट ८ घर क्षति भएको र त्यसबाट २९ परिवार प्रभावित हुन पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनु भएको छ । सो आगलागीबाट संस्थागत रूपमा रु.२२ लाख ४७ हजार ७ सय र व्यक्तिगत रु. ७ करोड ४३ लाख २५ हजार समेत गरी जम्मा रु.७ करोड ६५ लाख ७२ हजार ७ सय क्ष्यतिको विवरण प्राप्त भएको उहाँको भनाई छ ।
आजै दिउसो ताप्लेजुङ जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठक बसेर उक्त आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा पीडितलाई राहत अन्य प्याकेज प्रदान गर्ने विषयमा छलफल भएको समाचार प्राप्त भएको छ । त्यहाँ आगलागी कसरी भयो भनेर कारण खोजी भइरहेको र आगलागीबाट पीडितलाई फुङलिङ नगरपालिका लगायतले दिउसो खाना खुवाउने व्यवस्था गरेको जानकारी प्राप्त भएको छ । हिजो रातीबाट आगलागी भएपनि सेना, प्रहरी, सशस्त्र प्रहरी ,फिदिम बाट गएको दमकल लगायतले लामो प्रयासपछि आज विहान मात्र त्यो आगलागी नियन्त्रण गर्न सफल भएको जनाइएको छ तर आज दिउसोसम्म पनि आगलागी भएको स्थलमा धुवाई रहेको स्थानीयको भनाई छ ।
आज फुङलिङ नगरपालिका,नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक चरणको राहत प्याकेज वितरण गर्नुका साथै स्थानीय २ वटा सहकारी संस्थाले आफ्ना पीडित सदस्यहरुलाई नगद सहयोग प्रदान गरेको बताउदै प्रमुख जिल्ला अधिकारी निरौलाले पीडितलाई राहतका अन्य प्याकेजहरूको सम्वन्धमा सम्वन्धित निकायले काम शुरु गरिसकेको छ भन्नुभयो ।

