नागरिकहरुलाई रोग र भोकबाट बचाउन ४ किसान संगठनको सरकार समक्ष माग
कोरोना भाइरस(COVID-19)को माहामारी फैलिन नदिन नेपाल सरकारले देशभर २०७६ चैत्र ११ गतेदेखि गरिरहेको लकडाउनका कारण देशको अर्थतन्त्र तथा नागरिकहरुको जीवन कष्टप्रद बन्दै गइरहेको छ । यसै सन्दर्भमा नेपालका विभिन्न कम्युनिष्ट पार्टी निकट ४ वटा किसान संगठनहरुले २०७७ बैशाख २३ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी जनतालाई रोग र भोकबाट जोगाउन नेपाल सरकार समक्ष माग गरेका छन् । अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी ,अखिल नेपाल किसान महासंघ(अप्पो) का अध्यक्ष भैरवराज रेग्मी,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाले हस्ताक्षर गर्नु भएको सो प्रेस विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।
बिश्वब्यापी कोरोना महामारीका कारण देश लकडाउनमा गएको डेढ महिना बित्न लागेको छ । आवश्यक पूर्वाधार बिना एक्कासी लकडाउन गरिएकोले देशका सम्पूर्ण बिपन्न र श्रमजीवी बर्ग, खाशगरी असंगठित क्षेत्रका श्रमजीबी मजदुर किसानहरु अत्यन्तै कष्टप्रद जीवन बिताउन बाध्य बनेका छन् । उनीहरुले उचित राहत पाउन सकेका छैनन् । सीमित क्षेत्रमा पक्षपातपूर्ण तरिकाले बितरित राहत पनि गुणस्तरहीन छ । त्यसले गर्दा आबश्यक भोजनको अभावमा न्यून र निश्चित आय बर्गका सम्पूर्ण बिपन्न बर्ग र तिनका परिवार खासगरी बालबालिका, बृद्ध र सुत्केरी महिलाहरु आज अत्यन्तै ठूलो कठिनाईको स्थितिबाट गुज्रिरहेको अबस्था छ । अर्कोतिर किसानहरुको बालीनाली, दूध, तरकारी, कुखुरा ब्यवसाय, कृषिजन्य उद्योग सबै अस्तब्यस्त बनेका छन् र तिनले ठूलो नोक्सानी बेहोरिइरहेका छन् । तेस्रो कुरा बिदेशमा रहेका श्रमिजीबी नेपाली नागरिकहरुले उता काम बन्द भएको र यता घर फर्किन पनि नसकेको अत्यन्तै अप्ठ्यारो स्थिति बेहोरिरहेका छन् र दु:ख पाइरहेका छन् । चौथो कुरा देशमा आर्थिक गतिबिधि पूरै ठप्प भएकोले आउदा दिनमा ठूलो अनिकाल र अपूर्व मन्दीको स्थितिको असैह्य बोझको मार नेपाली जनतको टाउको माथि पर्न लागेको हुँदा यी सबै कुरालाई मध्यनजर राखेर यस स्थितिमा हामी चार किसान संगठनहरु जनताालई रोग र भोक दुबैबाट जोगाउदै देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन सरकारको गम्भीर ध्यान जाओस् । नेपाल र नेपाली बचाउन यी कदम तत्काल चाल्न जोडदार माग गर्दछौँ । ःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःःः
१. लकडाउनल भाइरस संक्रमण रोकिने होइन, अस्थाई रुपमा फैलिन नदिने र जोगाउने मात्र भएकोले सीमाका आवतजावतमा पूर्ण रोक लगाउन, सुरक्षाका अझ कडा कदम चाल्न र भारत लगायत बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा र बिमारीलाई आइसोलेशनमा राख्ने उचित प्रबन्ध गर्न, कोरोना संक्रमणको ट्रेस र टेस्ट गर्न आवश्यक स्वास्थ्य र सुरक्षा सामाग्रीको ततकालै प्रबन्ध गरियोस् तथा परीक्षणको ब्यापक बिस्तार गरियोस् भन्ने जोडदार माग गर्दछौं ।
२ लकडाउनमा बसेका सबै बिपन्न परिवारलाई तिनको परिवारका सदस्यको आधारमा आबश्यक गुणस्तरीय राहत निष्पक्ष रुपमा प्रदान गरियोस् र पक्षपात गर्ने, गुणस्तरहीन राहत बाढ्ने जो कसैलाई पनि कडा कारबाही गरियोस् ।
३.जनतालाई आसन्न भोकमारीबाट जोगाउन कम्तिमा आगामी एक बर्षका लागि आबश्यक अन्नपातको जोगाड र भण्डारण गरियोस् ।
४.किसानहरुको तुरुन्तै उपयोग गर्नुपर्ने तरकारी, दुग्धजन्य पदार्थ, तथा माछा मासुजन्य पदार्थको सुरक्षित बिक्री बितरण गर्ने र कोरोना असंक्रमित क्षेत्रमा सुरक्षा साबधानीका नियम पालन गर्दै कृषि कर्म गर्ने ब्यबस्था शिघ्र मिलाइयोस् ।
५. बिदेशमा रहेका श्रमजीबी नेपालीहरुको सुरक्षित र उचित बसोबास तथा स्वदेश आउन चाहनेहरुका लागि सुरक्षित आगमनको ब्यवस्था गरियोस् ।
६.महामारी चलेको र लक डाउन भएको बेलामा समेत भ्रष्टाचार, मूल्यबृद्धि, कालोबजारी र तस्करी गर्ने जो कसैलाई कडा कारबाही गरियोस् र चर्को मूल्य बृद्धि नियन्त्रण गरियोस् ।
७ .(क) उपर्युक्त कोरोना सम्बन्धी चिकित्सकीय कार्य छिटो,छरितो र किफायती ढंगले ब्यापक रुपमा अघि बढाउन चिकित्सा बिज्ञहरु र सुरक्षाकर्मी समेतको सशक्त टिम बनाई कार्य सम्पादन र अनुगमन गरियोस् ।
(ख) प्रभावकारी र उचित राहत बितरण,सुरक्षित किसिमले कृषि तथा गैर कृषि कार्य सुचारु गर्न गराउन बिशेषज्ञहरुको उच्च स्तरीय समूह गठन गरी यसलाई ठोस कार्यान्वयनमा ल्याइयोस् र यसरी देश र जनताको रक्षा गरियोस् ।

