२०७७ जेठ ५ गतेसम्म लम्बियो लकडाउन , कोरोना संक्रमितको संख्या ९९ पुग्यो, बैशाख २६ गतेबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशनको तयारी गरिदै
नेपाल सरकार, मन्त्रीपरिषदको आज बसेको बैठकले कोरोना भाइरस(COVID-19) संक्रमण फैलिन नदिन पुन:पाँचौँ पटक थप गरी लकडाउनको समय २०७७ जेष्ठ ५ गतेसम्म बढाउने निर्णय ग-यो । यस अघि थपिएको लकडाउन भोलि राती १२ बजे सकिन लागेको थियो । कोरोना संक्रमितको संख्या बढेसँगै सो निर्णय गरिएको बताइएको छ । सो बैठकले २०७७ जेष्ठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । यसैगरी सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिरहेको बताएको छ । यस अगाडि जारी भएका सवारी पास खारेज गरी नेपाल सरकार,गृह मन्त्रालय र ऊ मातहतका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले मात्रै अत्यावश्यक कामका लागि सवारी पास जारी गर्न सक्ने र त्यसरी पास जारी गर्दा गृह मन्त्रालयको स्वीकृती लिनु पर्ने व्यवस्था गरिएको बताइएको छ । पास विना काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका गाडीलाई समातेर कारवाही गरिएको पनि जनाइएको छ । अत्यावश्यक सामाग्री बोक्ने गाडी, विरामी बोकेका एम्बुलेन्सलाई चल्न दिइएको तथा परिवारका सदस्यको निधन भई काजक्रियाका लागि हिडेका नागरिकहरुका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ । उपत्यकामा भने खोला करिडोर लगायतको बाटोबाट निजी सवारी साधनहरु गुडिरहेका छन् 

। काठमाडौं उपत्यकाभित्र मर्निङवाकमा हिड्नेहरुको संख्या पनि सामान्य अवस्थाको जस्तै देखिएको छ ।
यता नागरिकहरुले लकडाउनलाई खुकुलो बनाउदै लगेर जनजीवनलाई सहजीकरण गर्न आग्रह गरिरहेका छन् । लकडाउन जारी रहदा पनि मानिसहरु घर निर्माण 
जस्ता काममा लाग्न थालेको देखिएको छ ।
उता आज पर्सामा नावालकदेखि ६५ वर्षका १७ जनाको कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस अगाडि पछिल्लो समयमा प्रदेश नं.५ को बाँकेमा २३ जना र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
यस अघि उपचारपछि निको भएका काठमाडौंको सनसिटी अपार्टमेन्टमा १ जना ५८ वर्षीया पुरुष तथा रौतहट र पर्साका १/१ जनामा पुन: कोरोना भाइरस पोजेटिभ देखिएको छ । काठमाडौंका ती कोरोना संक्रमित पुरुषको ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा र पर्सा र रौतहटका ती २ जनालाई पर्साको विरगञ्जस्थित नारायणी उप-क्षेत्रीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको बताइएको छ ।
मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरु मध्ये उदयपुरका ६ जना उपचारपछि निको भई अस्पतालबाट डिस्चार्ज भएको नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबेलासम्म उपचारपछि पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किने संख्या १९ पुगेको छ । बाँकी विरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
उता राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २६ गते आह्वान गर्नु भएको संघीय संसदको छैटौँ अधिवेशन सोही दिन अपरान्ह ४ बजे बस्ने तयारी भइरहेको जनाइएको छ । सांसदहरु वीच निश्चित दुरी कायम गर्ने र उनीहरुको आसन अगाडि माइकको व्यवस्था गर्ने कार्य भइरहेको बताइएको छ । सांसदहरुलाई रोष्टममा जान नदिने व्यवस्था गरिएको र सांसदहरुले आफ्नो भनाई आफ्नो आसन अगाडिको मालिकबाट राख्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।
