नेपाल कोरोना संक्रमितको संख्या १०२ पुग्यो, आज ९ जना निको भए
आज बाँकेका एक १६ वर्षीय युवामा कोरोना भाइरस(COVID-19) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ जना पुगेको छ । आज कोरोना संक्रमण पुष्टि भएका बाँकेका युवालाई खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । हिजो कपिलबस्तुको मायादेवी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको थियो । ती दुई जना पनि रौतहटका २ जना कोरोना संक्रमित व्यक्तिहरु झै भारतीय भूमिबाट लुकिछिपी नेपाल आएको जनाइएको छ ।
यता कोशी अञ्चल विराटनगरमा कोरोना संक्रमित २५ जनामध्ये ८ जना निको भएर डिस्चार्ज भएको जानकारी प्राप्त भएको छ । डिस्चार्ज हुने मध्ये उदयपुरको हुर्केका ५ जना, विराटनगरका २ जना र एक भारतीय रहेको बताइएको छ । यससँगै उदयपुरका कोरोना संक्रमित विरामीहरु मध्ये निको हुनेको संख्या ११ पुगेको छ । यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी ३४ वर्षीय १ महिलाको सातौँ र आठौँ पटकको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनी आज अस्पतालबाट डिस्चाज भई घर फर्केको समाचार छ । उनको डिस्चार्ज भएसँगै सुदुर पश्चिम प्रदेशमा कोरोना संक्रमित सबै विरामी निको भएका छन्। आज ९ जना कोरोना संक्रमित विरामी निको भएर घर फर्केसँगै नेपालमा उपचारपछि निको हुने कोरोना संक्रमित विरामीको संख्या २८ पुगेको छ ।

