सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीय सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २८१
सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया सुत्केरी महिलाको 

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले बताउनु भएको छ । मृतक महिलाको काठमाडौंको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गरिने बताइएको छ । उहाँको नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ । मृतकका परिवार सहित उहाँको सम्पर्कमा रहेका सबैलाई ट्रेसिङ गरी परीक्षण गरिने स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाको भनाई छ । मृतकका महिलाका परिवारका सदस्यहरुको स्वाव संकलन गरी सकेको जनाइएको छ । कोरोना संक्रमणबाट उहाँको दु:खद निधन भएसँगै नेपालमा कोरोना भाइरस नयाँ चरणमा प्रवेश गरेको देखिएको छ ।
यही बैशाख २३ गते काठमाडौंको महाराजगञ्ज स्थित त्रि.वि. शिक्षण अस्पतालमा प्रसुतीका लागि भर्ना भएकी उहाँबाट बैशाख २४ गते बच्चा जन्मिएको र स्वास्थ्य अवस्था राम्रो रहेकोले बैशाख २५ गते उहाँलाई डिस्चार्ज गरी बाह्रविसे स्थित घर लगिएको बताइएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुपाल्चोक कै स्थानीय अस्पतालमा लगी उपचार गरिएपनि स्वास्थ्य अवस्था झन गम्भीर भएपछि धुलिखेल अस्पताल पु-याइएको थियो । त्यहीँ उहाँको निधन भएको थियो । उहाँको निधन कोरोना भाइरस संक्रमणबाट भएको देखिएपछि धुलिखेल अस्पताल दिउसो नै सिल गरिएको थियो । थप परीक्षणका लागि उहाँको शव काठमाडौंमा ल्याई कोरोना परीक्षण गरिएको थियो ।
आजै दिउशो अपरान्ह काभ्रेपलाञ्चोक र महोत्तरीका १/१ जना र साँझ धनुषाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ भने कोरोना संक्रमित ३६ जना विरामी पूर्ण रुपमा निको भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ छ ।
काठमाडौं महानगरपालिकाका सरसफाईमा खटिने कर्मचारी मध्ये ३१ जनाको र्यापिड टेष्ट कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

