सरकारले लकडाउनको समय जेठ २० गते सम्म थप्यो, नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो
नेपाल सरकार, मन्त्रीपरिषदको केहीबेर अगाडि सम्पन्न बैठकले लकडाउनको समय छैटौँ पटक थप गरी यही जेठ २० गते मध्यरातसम्म निरन्तरता दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ । यस अगाडि थपिएको लकडाउनको समयावधि भोलि मध्यरातबाट सकिदै छ । लकडाउनमा ढुवानी सेवा, कृषि कार्य, आयोजना निर्माण कार्य र निर्माण सामाग्रीको ढुवानी यथावत रहने नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाको भनाई छ । नेपाल सरकारले विभिन्न देशमा रहेका २० हजार जति नेपालीहरुलाई पहिलो चरणमा स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्ने गरी तयारी गरिरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको कथन छ ।
आजै साँझ धनकुटामा १ र मोरङको विराटगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको पी.सी.आर.(PCR) रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । धनकुटामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएका विरामी स्वास्थ्यकर्मी भएको जनाइएको छ । आज एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबेलासम्म देशका ३० जिल्लाका २९५ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भयो भने कोरोना कै कारण २ जनाको ज्यान गयो । यसैगरी ३६ जना कोरोना संक्रमित विरामी उपचारपछि निको भएका छन् ।
उता विश्वभर ३ लाख १४ हजार हाराहारीमा कोरोना संक्रमित विरामीको मृत्यु भएको छ भने ४७ लाख ५४ हजार जतिमा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ लाख ३२ हजार जति कोरोना संक्रमित विरामी निको भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उता भारतले पनि लकडाउनको अबधि बढाएर यही जेठ १८ गतेसम्म ल्याएको जानकारी प्राप्त भएको छ । उता भारतमा आज मात्रै ५ हजारमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आजै भारत सरकारले नेपाल सरकारलाई ३० हजार जति पी.सी.आर. किट हस्तान्तरण गरिएको बताइएको छ ।

