नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ पुग्यो ।

0 Shares

बाँकेको नरैनापुरका ४६ जना पुरुष र १ जना महिला , मोरङको रतुवामाईईका २४ वर्षीय १ जना युवा तथा गुल्मीका १ , धनुषाका १ , रौतहटका १ र धादिङका १ र दाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनु भएको छ । आज विहान मात्रै रौतहटमा थप ८ जना र बारामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यसबेला सम्म ३१ जिल्लाका ३५७ जनामा कोरोना भाइरस संक्रमित भएका छन् । यी मध्ये २ जनाको मृत्यु भयो भने ३६ जना निको भएका छन् ।
यसबेला सम्म बाराका १ , धनुषाका १ , पर्साका २ र उदयपुरका १ जना पत्रकार संक्रमित भएका छन् । अस्पतालमा कार्यरत नर्स, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कर्मचारीमा पनि कोरोना संक्रमण भएको देखिएको छ ।
काठमाडौंको कालीमाटीका मासु पसल चलाउँदै आएका बर्दियाका १ जनामा पनि कोरोना संक्रमण भएको अपुष्ट खबर प्राप्त भएको छ । उनी धनगढीबाट काठमाडौं गएको ट्रकमा बर्दियाबाट काठमाडौं पुगेको सो खबरमा उल्लेख छ ।
यही जेठ ३ गते कोरोना संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको सम्पर्कमा आएका उनका सबै आफन्तको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ भने सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं. ९, राम्चे र बलेफी गाउँपालिकाका वडा नं. ८ र ९ मा कोरोना भाइरस परीक्षण गरिरहेको पनि बताइएको छ ।
हिजो धनकुटा जिल्ला अस्पतालकी १ जना नर्स कोरोना संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको टोल सिल गरिएको छ । यसैगरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरानको प्रसुती वार्ड पनि सिल गरिएको बताइएको छ ।
उता भोजपुरको होम्ताङ क्षेत्रमा पनि कोरोना परीक्षण भइरहेको पनि जनाइएको छ ।
विश्वभर आज विहानसम्म कोरोना संक्रमितको संख्या ४८ लाख ५ हजार १ सय ८६ , कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ७ सय ३० र निको भएका कोरोना भाइरस विरामीको संख्या १८ लाख ६० हजार ३६ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए ।
यता भारतमा अलपत्र नेपालीहरुलाई स्वदेशमा ल्याउने कार्य भइरहेको पनि जनाइएको छ ।

Leave a Reply