आज थप ३० जनामा कोरोना संक्रमण, लकडाउनको देशभर प्रभाव
आज पुन:नेपालमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीका १५,कपिलबस्तुका ९ ,नवलपरासीका ४ र चितवनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ । संक्रमित मध्ये ३ जनाको दु:खद निधन भएपनि ४९ जना निको भएका छन् । यसैगरी बाँकेको खजुरा स्थित कोरोना उपचार अस्पतालमा बाँकेका पहिलो कोरोना संक्रमित विरामी सहित उपचाररत २१ जनाको कोरोना परीक्षणको स्वाव नेगेटिभ आएपछि आज उनीहरुलाई आज डिस्चार्जको तयारी भइरहेको जनाइएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा उपचारबाट निको हुने कोरोना संक्रमितको संख्या ७० पुग्ने छ ।
यता आज लकडाउनको ६०औँ दिनमा पनि लकडाउनको प्रभाव देशभर परेको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गरिएको जनाइएको छ । अत्यावश्यक काममा बाहेक खासै मानिसहरु बाहिर निस्केका छैनन् । सरकारले पनि नागरिकहरुलाई लकडाउनको पालना गरी घरैमा सुरक्षित रुपमा बस्न आग्रह गरिरहेको छ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख हाराहारीमा पुगेको छ भने २० लाख ८१ हजारभन्दा बढी निको भएका छन् तर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ३ लाख ३४ हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

