नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, इद उल फित्र सामाजिक दुरी कायम गरी मनाउन सरकार र मुस्लिम आयोगको अनुरोध
आज पुन: ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताउनु भएको छ । जस अनुसार बाँकेको नरैनापुरका २७, बैतडीका ४, सुर्खेतका ३ तथा झापाका र बर्दियाका १/१ जना छन् । यससँगै आज मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशका ४० जिल्लाका ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएका सबैलाई इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाको अगुवाईमा ट्रेकिङ भइरहेको प्रवक्ता डा. देवकोटाको भनाई छ । यसबेला सम्भावित कोरोना संक्रमितको संख्या ४३४ जना रहेको बताइएको छ । यतिबेलासम्म ८६,२३५ जनाको आरडीटी परीक्षण र ४६,९१८ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ तर किट अभावमा झापा, कपिलबस्तु लगायतका जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरु लगायतको कोरोना परीक्षण गर्न समस्या भइरहेको बताइएको छ ।
याता रुपन्देहीको मर्चवारमा क्वारेन्टाइन व्यवस्थित नगरिएको भन्दै विरोध प्रदर्शन गरिएको खबर छ ।
उता प्रवक्ता डा. देवकोटाले इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद उलफित्र सामाइजिक दुरी कायम गरी मनाउन सबैलाई आग्रह गर्नुभएको छ । यसैगरी मुस्लिम आयोगका अध्यक्ष सलिममिया अन्सारीले पनि भोलिको इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै सबै मुस्लिम समुदायलाई सामाजिक दुरी कायम गरी सचेत बनी पर्व मनाउन अपिल गर्नु भएको छ ।

