लोकतान्त्रिक संघीय गणतन्त्र, नेपाल स्थापना भएको १२ बर्ष पूरा
लोकतान्त्रिक संघीय गणतन्त्र,नेपाल स्थापना भएको आज १२ वर्ष पूरा भएको छ । नागरिकहरुको तीव्र दवावका वीच २०६५ जेष्ठ १५ गते बसेको प्रथम संविधानसभाको पहिलो बैठकबाट २४० वर्षे राजतन्त्र तथा राज्यको एकात्मक तथा केन्द्रिकृत संरचना अन्त गरी लोकतान्त्रिक संघीय गणतन्त्र, नेपाल स्थापना गर्ने निर्णय भएको थियो । सो बैठकको अध्यक्षता गरेका उक्त संविधानसभाका जेष्ठ सदस्य तथा नेपाली काँग्रेसका नेता एवं भूतपूर्व मन्त्री कुलबहादुर गुरुङले राजतन्त्र तथा राज्यको एकात्मक तथा केन्द्रिकृत संरचना अन्त गरी लोकतान्त्रिक संघीय गणतन्त्र, नेपाल स्थापना भएको घोषणा गर्नु भएको थियो । सो घोषणाप्रति रा.प्र.पा.,नेपालका ४ जना संविधानसभा सदस्य बाहेक अरु सबैले सहमती जनाएका थिए । त्यसपछि पहिलो पटक डा. रामवरण यादव राष्ट्रपति र परमानन्द झा उपराष्ट्रपति तथा त्यसपछि हालसम्म विद्यादेवी भण्डारी राष्ट्रपति र नन्दबहादुर पुन उपराष्ट्रपति बन्नुभएको छ ।
नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना भएपछि १० वटा सरकार परिवर्तन भए भने राजनीतिक दलहरु वीच सहमती बन्न नसक्ता संविधान निर्माण गर्न नसकी प्रथम संविधानसभा विघटन भयो । २०७० सालमा पुन:निर्वाचन मार्फत द्वितीय संविधानसभा निर्माण भयो । त्यसले नै २०७२ असोज ३ गते नेपालको संविधान,२०७२ जारी ग-यो । सो खुशीयालीमा नेपाली काँग्रेस,नेकपा(एमाले), एनेकपा (माओवादी),लगायतका दलहरुको अगुवाइमा संविधान जारी भएको दिन दीपावली गरिएको थियो । त्यो संविधानप्रति केही कम्युनिष्ट पार्टी तथा जातीय तथा क्षेत्रीय दलहरुको
असन्तुष्टिका स्वर पनि देखियो । कम्युनिष्ट पार्टीहरु र अरु असन्तुष्ट दलहरुको असन्तुष्टिको विषय भने फरक फरक थियो । तराई मधेश केन्द्रित दलहरुको विरोधलाई निहुँ बनाएर भारतले नेपालमा नाकाबन्दी समेत गरेको थियो । असन्तुष्ट वाम दलहरु मध्येको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको संविधान, २०७२ अन्तरिम संविधान,२०६३ को तुलनामा प्रतिगामी रहेको बताउदै आउनु भएको छ । नेपालको संविधान,२०७२ झट्ट हेर्दा सबैथोक भएजस्तो लाग्ने तर यथार्थमा चाहिँ त्यसमा उल्लेखनीय केही नभएको उहाँको भनाई छ । लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना भएपछि नेपालमा सामाजिक रुपान्तरण भई विकासले फड्को मार्ने अपेक्षा गरेका नेपाली नागरिकहरुले त्यो नभएपछि निराशा व्यक्त गरेको देखिदैछ । यस बारेमा आफ्नो भनाई व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राज्यको उपरी ढाँचामा बदलाव भएपनि समाजको आधारभूत तहमा परिवर्तन हुन नसक्नु तथा राजनीतिक दलहरुका नेता-कार्यकर्ताहरुको बोली र व्यवहारमा एकरुपता हुन नसकेकाले समाजमा निराशा र राजनीतिक दलहरुप्रति बितिष्णा बढेकोले यसबारेमा राजनीतिक दल तथा तिनका नेता-कार्यकर्ताहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिइरहनु भएको छ ।

