कोरोनाका कारण क्वारेन्टिनमा बस्नेको संख्या १ लाख नाघ्यो, जेठ २१ गतेबाट संस्थागत विद्यालयले विद्यार्थी भर्ना शुरु गर्ने
कोरोना भाइरसबाट शुक्रबार एकै दिन १७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका ५२ जिल्लाका १,२१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार रौतहटका ५६, कपिलबस्तुका ५१, झापाका २८,बाँकेका १०, पर्सा र सर्लाहीका ५/५, बारा र सप्तरीका ४/४ , दाङ र नवलपरासी सुस्ता बर्दघाट पूर्व २/२ तथा म्याग्दी , अर्घाखाँची (मृत) र रुपन्देहीका १/१ जना रहेका छन् ।
शुक्रवार निको भएर २१ जना कोरोना संक्रमित विरामी घर फर्केका छन् । यीसँगै निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या २०६ पुगेको छ ।
भारतबाट घर फर्किने क्रममा बिहीबार कपिलबस्तुमा मृत्यु भएका अर्घाखाँचीका १ जना पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको घोषणा गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यसबेला सम्म देशका विभिन्न क्वारेन्टिनमा रहेकाहरुको संख्या १ लाख नाघेको बताइएको छ । क्वारेन्टिनमा रहनेमा भारतबाट स्वदेश फर्केका नेपालीहरुको बाहुल्यता रहेको छ ।
उता कोरोना कहर कै बीच संस्थागत (निजी) विद्यालयहरुले यही जेठ २१ गतेबाट विद्यार्थी भर्ना शुरु गर्ने जनाएका छन् । विद्यार्थी भर्ना कार्यक्रम अगाडि बढाउदा राज्यले अवलम्बन गरेको सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नु पर्ने बताइएको छ ।
