जुम मार्फत भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो अन्तर्क्रिया कार्यक्रम , सामूहिक साकोस, भुलाञ्छा, भक्तपुरले सदस्य र कर्मचारीहरुको कोरोना वीमा गर्दै
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजनामा जुममार्फत आज ‘बन्दाबन्दीको अवस्थामा नेतृत्वको
भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । 


सो कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बन्दाबन्दीको अवस्थामा प्रविधिको प्रयोग गरी निरन्तर शिक्षा तथा तालिम प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम राखिएको बताउनु भयो । उक्त संघको तालिम व्यवस्थापन उप-समितिका सदस्य तुल्सीहरि प्रजापतीले ‘बन्दाबन्दीकोे अवस्थामा नेतृत्वको भूमिका’ विषयक प्रस्तुतीकरण गर्दै सहकारीमा संकटकालीन नेतृत्वको प्रत्यक्ष अप्रत्यक्ष भूमिका विषयमा चर्चा गर्नुभयोे । उहाँले संकटको बेलामा सहकारीका नेतृत्वले प्रत्यक्ष रुपमा सहकारी संस्था र सदस्यसँग सम्वन्धित बिषयबस्तुहरुमा ध्यान पु-याउन आवश्यक छ भने अप्रत्यक्ष रुपमा समाजसँग पनि जोडेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्नुपर्ने कुरा बताउनुभयो । उहाँले सहकारीका सञ्चालक समिति र उप-समितिका पदाधिकारीहरुले ‘सहकारी’ शब्दलाई ध्यानमा राखी सोको अक्षरको आधारमा व्याख्या गर्दा पनि सबैसँग जोडिने, हरेक पक्षको अध्ययन गर्ने, काम कार्वाही अघि बढाउने र रीति बसाउने जस्ता शुत्रलाई मनन गरी अघि बढ्न सक्ने विचार राख्नुभयो । त्यस अवसरमाप्रस्तुतीको समीक्षा गर्दै तालिम व्यवस्थापन उप-समितिको सदस्य विश्वबहादुर दुवालले प्रस्तुती सरल, सहज र प्रभावकारी ढंगबाट प्रस्तुत गर्नु भएकोमा धन्यबाद व्यक्त गर्दै नेतृत्वले ठाउँ, परिवेश र समय अनुसार नेतृत्वका भूमिका फरक पर्ने कुरालाई पनि ध्यानमा राखी अघि बढ्नुुपर्ने कुरा बताउनुभयो ।
६९ जना सहकारीकर्मीहरुको सहभागिता रहेको त्यस अन्तर्क्रिया कार्यक्रममा अहिलेको बन्दाबन्दीको अवस्थामा सदस्य सेवा, वित्तीय व्यवस्थापन र कार्यालय व्यवस्थापनका वारेमा उठेका जिज्ञासा त्यसै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, प्रस्तुतकर्ता तुल्सीहरि प्रजापती र व्यवस्थापक बालकृष्ण धोजुले सहजीकरण गर्नु भएको थियो । जुममा जोडिनुभएका सम्पुर्ण सहभागिलाई धन्यवाद दिदै त्यस संघका उपाध्यक्ष हरि बल्लले यस संघले प्रदान गर्ने कार्यक्रमको बारेमा सहकारी सहकारी मार्फत सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
यता सामूहिक बचत तथा ऋण सहकारी संघ लि.,भुलाञ्छा, भक्तपुरले आफ्ना शेयर सदस्यहरुको कोरोना बीमा शुरु गरेको जनाएको छ । कोरोना भाइरस (CoVID-19) महामारीको सम्भावित आर्थिक क्षतिको जोखिमलाई कम गर्न संस्थाका शेयर सदस्यहरु र सदस्यका परिवार तथा कर्मचारीहरु समेत गरी हाल सम्म ७७ जना भन्दा बढीको बीमा गरी सकेको उक्त संस्थाको भनाई छ । कोरोना भाइरस महामारी र लकडाउनको यस विषम परिस्थितिमा पनि २०७६ चैत्र २६ गतेदेखि सो संस्थाले निरन्तर बिहान ७ बजेदेखि दिउशो १ बजेसम्म आफ्ना शेयर सदस्यलाई सेवा दिई आइरहेकोमा काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित भेटिन थालेकोले हाललाई बिहान ७ देखि १० बजेसम्म हप्ताको सातै दिन सेवा दिंदै आइरहेको बताइएको छ । यस अवधिमा संस्थाले बचत संकलन तथा ऋण असुलीका साथै शेयर सदस्यको आवश्यकता अनुसार रु.१० लाख सम्म ऋण लगानी गर्दै आइरहेको बताएको छ ।

सामूहिक साकोस र समता साकोस वीच एकीकरण सम्पन्न
सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,भूलाञ्छा, भक्तपुर र भक्तपुरकै मध्यपुर थिमि नगरपालिका वडा नं ६ मा अवस्थित समता बचत तथा ऋण सहकारी संस्था वीच यही जेठ २१ गते एकीकरण सम्पन्न भएको छ । ती दुई संस्थाको एकीकरण पश्चात सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को नामबाटै एकीकृत संस्था सञ्चालन हुने भएको छ ।
गत वर्ष एक औपचारिक कार्यक्रम वीच सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. र समता बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरणको घोषणा भएकोमा २०७६ फागुन २९
गते सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. र बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण भएको थियो भने भने एकीकृत संस्था सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट सञ्चालन गर्ने सहमती भएको थियो ।
सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धनेशराज राजोपाध्यायले सहकारी ऐन, नियमावली र हालै मात्र नेपाल सरकारबाट प्रस्तुत बजेटले पनि सहकारी एकीकरणलाई प्रथमिकतामा राखेकोले अन्य संस्थालाई पनि एकीकरणका लागि आह्वान गरिएको बताउनुभयो ।

