मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि. र गाम्चा साकोस, गाम्चाले ऋणी सदस्यहरुलाई कर्जाको व्याज छुट दिने
ललितपुरको प्रयागपोखरीमा रहेको मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.र भक्तपुरको गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउनको अवधिको कर्जाको हर्जना नलिने र संस्थाले तोकेको समयावधिमा ऋणी सदस्यहरुले आफूले लिएको कर्जाको किस्ता बुझाएमा व्याजदरमा छुट दिने भएका छन् । 
सहकारी सञ्जालसँग कुरा गर्दै मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष नवराज विष्टले लकडाउनको अवधिदेखि असार मसान्तसम्मको सावा व्याज भुक्तानी गरेमा व्याजको १० प्रतिशत छुट गर्ने र लकडाउनको अवधिदेखि असार मसान्तसम्मको व्याज मात्र भुक्तानी गरेमा व्याजको ५ प्रतिशत छुट गर्ने बताउनु भएको छ । आफ्ना शेयर सदस्यहरुलाई लकडाउनको समयमा पनि वित्तीय सेवा प्रदान गरेको सो संस्थाले लकडाउनका कारण समस्या परेका आर्थिक विपन्न अवस्थाका मानिसहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सकेको सहयोग गरेको थियो ।
यसैगरी गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को यही जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाले विहान ७ बजेदेखि दिउसो २ बजेसम्म कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उक्त बैठकले सो संस्थाबाट विभिन्न शीर्षकमा ऋण लिएका ऋणी सदस्यहरुले २०७७ असार १५ गतेभित्र चैत र बैशाख महिनाको पाकेको व्याजमा १५ प्रतिशत तथा जेठ र असार महिनाको किस्ता बुझाएमा व्याजमा १० प्रतिशत र व्याज मात्रै बुझाएमा व्याजमा ५ प्रतिशत छुट दिने निर्णय गरेको सोही संस्थाका अध्यक्ष विकाश खड्काको भनाई छ । गाम्चा चोकमा आफ्नै बहुउद्देश्यीय भवन निर्माण गरेको हो उक्त संस्थाले आफ्ना कर्मचारीहरुको सगरमाथा इन्स्योरेन्स कम्पनीबाट कोरोना वीमा गरेको छ । लकडाउनको समयमा पनि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको त्यस संस्थाले सूर्यविनियक नगरपालिका वडा नं. ४ को वडा स्तरीय कोरोना रोकथाम, उपचार तथा विपद व्यवस्थापन कोषमा आर्थिक र जिन्सी सामान सहयोग गरेको थियो ।

