नेपालको अध्यावधिक नयाँ नक्सा निशान छापमा राख्न दोस्रो संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा सर्वसम्मतीबाट पारित, अतिक्रमित भूमि फिर्ताको लागि भारतसँग बार्ता गर्ने प्रधानमन्त्री ओलीको भनाई
आज बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट नेपाल सरकारले जारी अध्य भारतद्वारा सहितक नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक- कालापानी सहितको नेपालको अध्यावधिक नयाँ नक्सा निशान छापमा राख्न दोस्रो संविधान संशोधन विधेयक सर्वसम्मतीबाट पारित गरेको छ । प्रतिनिधिसभाको सो बैठकमा उपस्थित २५८ जना सांसदहरु सबैले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नु भएको थियो । सो पारित विधेयक माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेता लालबाबु पण्डित, नेपाली काँग्रेसका नेताहरु डा. मिनेन्द्र रिजाल,वीरेन्द्रप्रसाद बडु,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपाका नेता राजेन्द्र लिङ्देनले भाग लिदै नेपालको राष्ट्रिय एकता र अखण्डताको पक्षमा एक भएर उभिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष दाहालले राजतन्त्रले गुमाएको नेपिली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभयो । त्यसैगरी सोही दलका नेता पण्डितले भारत आफूले अतिक्रमित नेपाली भूमि नेपाललाई फिर्ता गर्दैन भने सुगौली सन्धि पूर्वको नेपाली भूमि दावी गर्नु पर्नेमा जोड दिनुभयो । उक्त बैठकमा सो संविधान संशोधन प्रस्ताव पेश गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमायाँ तुम्बाहाम्फेले राष्ट्रियताको मुद्धामा राष्ट्रिय सहमति कायम भएकोमा खुशी लागेको बताउनुभयो । प्रतिनिधिसभाबाट संशोधन प्रस्ताव पारित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको लागि भारतसँग बार्ता गर्ने बताउनुभयो ।
यता उक्त संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको खुशियालीमा आज साझ नागरिकहरुले दीपावली गरी खुशी मनाए ।

