लकडाउनको समयमा पनि ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ
-शिवगोपाल थापा , कार्यकारी अधिकृत, ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लि.
शिवगोपाल थापा नेपालको सहकारी अभियानमा महत्वपूर्ण योगदान गर्ने सहकारी अभियान्ता मध्येका एक हुनुहुन्छ । सामाजिक क्षेत्रमा पनि कार्य गर्नु भएका थापा रोटरी क्लवका भूतपूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँ नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि.को सञ्चालक पनि हुनुहुन्छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरी सो संघको संस्थापक सचिव समेत रहनु भएको थियो उहाँ । उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले समसामयिक विषयमा छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१.यतिबेला के गर्दै हुनुहुन्छ ?
~कोरोना भाइरस(COVID-19) कहरका कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि गरिरहेको लकडाउनका कारण घरैमा बस्नु प-यो तर लकडाउनका कारण समस्या परेका आर्थिक विपन्न नागरिकहरुलाई मैले व्यक्तिगत रुपमा तथा सहकारीको माध्यमबाट सकेको राहत सहयोग गर्न पाएँ । यस अगाडि रोटरी क्लवको अध्यक्ष रहेको बेला २०७२ सालको भूकम्पबाट पीडितलाई पनि यसरी सहयोग गरेको थिएँ । लकडाउनको समयमा पनि हामीले ललितपुर बहुउद्देश्यीय सहकारी संस्था लि., लगनखेल, ललितपुरका शेयर सदस्यहरुलाई वित्तीय सहितका सेवा प्रदान गरिरहेका छौँ ।
२. लकडाउनको समयमा राहत सहयोग कहाँ र कसरी गर्नु भयो ?
~ लकडाउनको समयमा हामीले ललितपुर महानगरपालिका वडा नं. १८ र २५ मा केन्द्रित रहेर लकडाउनबाट पीडित दाजुभाइ दिदीबहिनीहरुलाई उहाँहरुको घर-घरमा पुगेर सकेको राहत सहयोग वितरण ग-यौँ ।





३. तपाईहरुले के राहत सहयोग गर्नु भयो ?
~ समस्यामा परेका नागरिकहरुलाई हामीले सहकारीको माध्यमबाट आर्थिक तथा जिन्सी सामाग्री निकै सहयोग ग-यौँ। मैले व्यक्तिगत रुपमा पनि समस्यामा परेका प्रति परिवारलाई १५ केजीका दरले चामल ,१/१ केजीका दरले नुन,दाल र चिनी र १ लिटरका दरले तेल ,३/४ वटाका दरले ९३ परिवारलाई वितरण गरेँ ।
४. पीडित परिवारलाई राहत सहयोग प्रदान गर्दै गर्दा तपाईले सम्झना लायक केही छ कि ?
~ हामीले लकडाउनले समस्या परेका परिवारलाई राहत सहयोग गर्ने क्रममा एक ठाउँमा भोकभोकै परेकी १ जना ७/८ दिनकी सुत्केरी बच्चा बोकेर राहत लिन आएको देख्यौँ भने अर्को ठाउँमा मृगौला प्रत्यारोपण गरेका १ जना विरामी घरमा खानेकुरा केही नभएर भोकभोकै बस्नु परेको भेट्यौँ । त्यो देख्ता मेरो त आँखाबाट आँशु झ-यो । उहाँहरुलाई हामीले सकेको राहत सहयोग गर्दा उहाँहरु खुशी हुनुभयो ।
५. लकडाउनबाट पीडित नागरिकहरुलाई सरकारले के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?
~ राज्यका संयन्त्रहरुले स्थलगत निरीक्षण गरी लकडाउनबाट पीडित नागरिकहरुको पहिचान गरी उहाँहरुलाई राहत तथा सुलभ व्याजदरमा कर्जा प्रदान गर्नु पर्दछ । यसका लागि सरकारले सहकारीलाई समेत परिचालन गर्दा राम्रो हुन्छ ।
६. अन्तमा केही भन्नु छ कि ?
~ कोरोना कहरले अस्तव्यस्त बनेको नागरिकहरुको जनजीवनलाई सहज बनाउन र देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारले योजनाबद्ध तरिकबाट कार्य गर्नु पर्दछ । सरकारले सहकारीलाई उत्पादन र वितरणमूलक कार्यमा जोडेर सहकारीका माध्यमबाट नागरिकहरुलाई अनुदान तथा न्युन व्याजदरमा कर्जा प्रदान गरी उत्पादनमूलक कार्यमा लगाउन सक्ता उपलब्धीमूलक हुने देख्छु म ।

