राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी बैकले राज्यसँगको पहल र समन्वय गरी तरलता ब्यवस्थापन कोष स्थापना गर्नु अहिलेको आवश्यकता हो
– किशोर महर्जन, उपाध्यक्ष, बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुर
बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष तथा अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.,सिद्धिपुर, ललितपुरका अध्यक्ष किशोर महर्जनले ललितपुरको सहकारी अभियानको विकास र प्रवर्द्धनका लागि विगत लामो समयदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. यतिबेला के गर्दै हुनुहुन्छ ?
~ संसार कोरोना भाइरस(COVID-19) महामारीको भूँमरीमा फसेको छ । अकल्पनीय घटनाको रुपमा यो महामारीको कहर संसारले भोगिरहेको छ । यस अगाडिका महामारीको तुलनामा यसले जनधनको ठूलो क्षति गर्नुका साथै संसारभरको अर्थतन्त्रलाई अशर पारेको छ । यसको अशरबाट नेपालको राष्ट्रिय अर्थतन्त्रको एक खम्बा सहकारी क्षेत्र पनि अछुतो रहन सकेको छैन । कोरोनाको कारण पर्न गएको वित्तीय असन्तुलनलाई न्युनिकरण गर्न हामी सम्बन्धित सरोकारवाला पक्षसँग हातेमालो गर्ने प्रयत्न गरिरहेका छौँ ।
२. सहकारी क्षेत्रलाई लकडाउनको अशरबाट मुक्त गर्न राज्यले के गर्नु पर्ला ?
~ सहकारीको कर्जा धितो तथा जमानीको आधारमा विना धितोमा प्रवाह भएको हुन्छ , जसमा व्यवहारिक तथा सामाजिक पक्षलाई ख्याल गर्नु पर्ने हुन्छ । यसो गर्दा बैंक तथा वित्तीय संस्थाले जसरी सहकारीले ऋणी सदस्यहरुलाई ऋण तिर्न दवाव दिन गाह्रो छ किनकी सहकारीमा शेयर सदस्यहरुको भावना सामाजिक र व्यवहारिक पक्षसँग जोडिएको हुन्छ । त्यही कारण राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी बैकले राज्यसँगको पहल र समन्वय गरी तरलता ब्यवस्थापन कोष स्थापना गरी त्यसलाई प्रभावकारी ढगबाट कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो ।
३. तपाईले थाइल्याण्ड लगायतका देशमा समेत गएर सहकारी अभियानको अध्ययन अवलोकन गर्नु भएको छ । तिनीहरुबाट सिक्नु पर्ने कुरा केही छन् कि ?
~ गत वर्ष चीनमा गएपनि त्यहाँको सहकारी अभियानको बारेमा भने खासै अध्ययन अवलोकन गर्ने अवसर भएन तर थाइल्याण्डमा भने त्यहाँको सहकारी अभियानको बारेमा अध्ययन अवलोकन गरियो । लगभग २ वर्ष अगाडि सहकारी अवलोकनका लागि हामी ३३ जना सहकारीकर्मीहरु थाइल्याण्ड गएका थियौँ । त्यहाँका सहकारीहरु सिद्धान्त , मुल्य र मान्यता अनुरुप सञ्चालन भई तिनले आफ्ना सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको पायौँ । एउटै प्रकृतिका सहकारीले पनि सदस्यहरुको हरेक आवश्यकता हेरी विभिन्न क्रियाकलाप गरेको पाइयो । जस्तै एउटै दुग्ध सहकारीले १५ कि.मी. भित्र सेवा प्रवाह गर्नु पर्ने नियमभित्र रहेर दुग्ध पदार्थ संकलन गर्नुका अतिरिक्त पेट्रोल पम्प, उपभोक्ता पसल, यातायात,सपिङ मल समेत सञ्चालन गरेको हामीले देख्यौँ । यो अर्थमा हेर्दा नेपालमा धेरे प्रकृतिका सहकारी सञ्चालन हुनुभन्दा बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी मात्रै सञ्चालन हुँदा पुग्छ भन्ने मेरो बुझाई रहेको छ । बचत तथा ऋण सहकारीले वित्तीय कारोवार मात्रै समेट्छ तर बहुउद्देश्यीय सहकारीबाट चाहिँ वित्तीय सहित उपभोक्ता ,उत्पादन , वितरण, कृषि , दुग्ध , हाइड्रो, विद्यालय तथा कलेज , अस्पताल , सपिङ मल आदि सञ्चालन गर्न सकिन्छ । यसो गर्दा धेरै प्रकृतिका सहकारी खोल्नु परेन र राज्यले २ खाले सहकारीलाई मात्रै आवश्यक नीति नियम बनाएर सञ्चालन गर्न दिनु उपयुक्त हुन्छ ।
४. राज्यले बहुउद्देश्यीय सहकारीको लागि कस्तो सहयोग गर्नु पर्ला ?
~ राज्यले बहुउद्देश्यीय सहकारीलाई मात्रै नहेरी समग्र सहकारी अभियानलाई राम्रो नजरले हेर्नु पर्दछ भन्ने मेरो भनाइ हो । राज्यलाई सहकारी अभियानले जति योगदान दिएको छ , त्यसमा बहुउद्देश्यीय सहकारीको योगदान पनि महत्वपूर्ण छ । व्यवहारिक रुपमा भने राज्यले सहकारीलाई सकारात्मक ढंगले व्यवहार गरेको छैन भन्ने सहकारी अभियानको बुझाई छ । राज्यले सहकारी राष्ट्रिय अर्थतन्त्रको एक खम्बा भनेर मात्रै पुग्दैन – त्यो व्यवहारिक रुपमा नै देखिनु पर्दछ ।
५. सरकारले एउटा व्यक्ति एक स्थानीय तहभित्र एकै प्रकृतिको एउटा भन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने भनिरहेको छ , यस बारे तपाईको भनाई के छ ?
~ राज्यले सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायधीकरण जतिशक्तो चाडो स्थापना गरी राम्रो सँग सञ्चालन गर्नु पर्दछ । यी दुई निकाय सञ्चालनमा आएसँगै एक व्यक्तिले दोहोरो सदस्यता लिदा केही फरक पर्दैन ।
६. लकडाउनको समयमा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरले के ग-यो नि ?
~ लकडाउनको समयमा पनि बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरले कोरोना महामारीले अशर गरेका आफ्ना सदस्य संस्थाहरुको विवरण संकलन गर्ने र तिनका बारेमा यस संघले आफूले गर्नु पर्ने जिम्मेवारी निर्वाह ग-यो ।

७. लकडाउनले अशर गरेका बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुर सँग सम्बद्ध सहकारी संस्थाहरुको वित्तीय सन्तुलन कायम गर्न सो संघले के गर्दै छ ?
~ कोरोना कहरले पारेको वित्तीय संकट सहकारीमा पनि आउने कुरालाई मध्यनजर गरी बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरले तरलता व्यवस्थापन कोष खडा गर्ने अवधारणा अगाडि ल्याएको छ । सो कोष सञ्चालन गर्न आवश्यक नीति नियम बनाई यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने बारे छलफलमा छौँ ।
८. अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.को गतिविधि के छ नि ?
~ अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि.विधिवत रुपमा सञ्चालन भएको ४ वर्ष पुग्न लागेको छ । यस अवधिमा हाम्रो यस संस्थाले ललितपुरको महालक्ष्मी नगरपालिका-६ , सिद्धिपुरमा मुख्य कार्यालय र गोदावारी नगरपालिका-१४ , ठैंबमा सदस्य सेवा केन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । यसको बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने योजना बनाउदै छौँ । यसको पञ्च वर्षीय योजनाको खाका तयार भएको छ । यसलाई मूर्त रुप दिन छलफल गरिरहेका छौँ ।
९. यो संस्थाले लकडाउनको अवधिमा आफ्ना शेयर सदस्यहरुलाई सेवा कसरी प्रवाह ग-यो नि ?
~ लकडाउन(बन्दाबन्दी) अवधिभर हामीले सम्पर्क व्यक्ति तोकेर शेयर सदस्यहरुलाई सेवा प्रवाह ग-यौँ । सरकारले लकडाउन अलि खुकुलो बनाएसँगै २०७७ जेष्ठ २० गतेदेखि यस संस्थाको मुख्य कार्यालय पूर्ववत समय तालिका अनुसार नै सञ्चालन गरी शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेका छौँ । हामीले लकडाउन अवधिको हर्जाना मिनाहा र यही असार २५ गतेसम्म व्याज तिरेमा व्याजमा १० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । यस संस्थाले आफ्ना कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गर्दै छ । हाम्रो यो संस्थाको यही असार १२ गतेसम्म कूल कारोबार रु.२३ करोड छ ।
१०. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी त्यसको विकास र प्रवर्द्धन गर्ने ढंगबाट काम गर्नु जरुरी छ किनकी सहकारी क्षेत्रले ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी दिएको छ भने देशको राष्ट्रिय अर्थतन्त्रको कूल जीडीपी(GDP) मा १० प्रतिशत योगदान गरेको छ ।
?्््््््््््््््््््््््््््््््््््््््््

्््््््््््््््््््््््््््््््््् ़़़़़़़़़़़़़़़़़़़़़़़़

Fantastic interview