एमसीसी(MCC) खारेजको माग गर्दै दश बाम दलद्वारा विरोध प्रदर्शन
एमसीसी(MCC)खारेजको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी),नेकपा(मसाल), नेकपा(माले), जनसमाजवादी दल सहितका १० दलले हिजो काठमाडौंको माइतीघरमा नारा लगाएर विरोध प्रदर्शन गरे । सो विरोध प्रदर्शनलाई नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी,देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापा, नेकपा(मसालका) नेता रामप्रकाश पुरी, नेकपा(माले)का नेता सुरेन्द्र ढकाल,नेकपा(क्रान्तिकारी माओवादी)का नेता दिनेश शर्मा,राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी,नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तिलक थापा , जन समाजवादी पार्टीका नेता डम्बर कार्की,पुष्पलाल अध्ययन समाजका नेता तथा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का हरि भट्टराई,साम्यवादी नेकपा(माओवादी)की नेता भावना विद्रोही लगायतले सम्बोधन गर्दै एमसीसी (MCC) नेपालको सार्वभौमसत्ता विरोधी भएकोले यसलाई खारेज गर्नु पर्ने बताउनुभयो । ‘जे नाममा गएपनि अमेरिकाले हात हालेका अफगानिस्तान, लिविया, सिरिया, इराक जस्ता देशहरुको अवस्था भयाबह रहेकोले एमसीसी लागु हुँदा हाम्रो देशको अवस्था पनि भयाबह हुन सक्छ’भन्नुभयो । त्यस अवसरमा विभिन्न दल तथा समूहले सो विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाएका थिए ।
२०७४ सालमा बनेको शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस र तत्कालीन नेकपा(माओवादी केन्द्र) को संयुक्त सरकारले संयुक्त राज्य अमेरिकासँग एमसीसी(MCC) सम्झौता गरेको थियो । त्यो सम्झौतालाई संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा छलफलमा रोक लगाएका कारण तत्कालीन सभामुख कृष्णबहादुर महारालाई संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लगाएर षडयन्त्रपूर्वक सभामुख पदबाट हटाइएको जानकारहरु बताउछन् । यतिबेला नेपाली काँग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पक्ष एमसीसी(MCC) संघीय संसदबाट दुई तिहाई बहुमतले पारित गराउन लागिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल,डा. भीम रावल लगायतका नेता कार्यकर्ताहरु भने यसलाई जस्ताको तस्तै नभई संशोधन गरेर मात्रे संघीय संसदबाट पारित गराउनु पर्नेमा जोड दिइरहनु भएको छ । नागरिकहरुले पनि देशको सार्वभौमसत्ता माथि आँच पु-याउने राष्ट्रघाती एमसीसी खारेज गर्नु पर्नेमा जोड दिइरहेको देखिएको छ ।

