कास्कूनको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद आचार्य नियुक्त
काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून)को प्रमुख कार्यकारी अधिकृत(CEO)पदमा कृष्णप्रसाद आचार्य नियुक्त हुनुभएको छ । ३ वर्षे कार्यकालका लागि कास्कूनको सञ्चालक समितिको बैठकले उहाँलाई कास्कूनको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाइएको छ । सहकारी अभियानमा झण्डै डेड दशक विभिन्न पदीय जिम्मेवारीमा रहेर सहकारी संघ/संस्थाको व्यवस्थापन सम्बन्धी कार्य गर्दै आउनु भएका आचार्यमा सहकारी क्षेत्रको व्यवस्थापन सम्बन्धी राम्रो ज्ञान र आनुभव रहेको बताइन्छ । कास्कूनको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएकोमा उहाँलाई कास्कून तथा विभिन्न सहकारी संघ/ संस्था तथा सहकारीकर्मी लगायतले बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
कास्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले कास्कूनलाई देशकै नमुना संघ बनाउन प्रयत्न गर्ने बताउनु भएको छ । कास्कूनमा आवद्ध सहकारी संस्थाहरुलाई शिक्षा, सूचना र तालिमलाई सदस्यमुखी बनाई नीति , विधि र प्रविधिमा संस्थाहरुलाई हिँडाएर तिनलाई जोखिमरहित बनाउने र कास्कूनबाट बचत र ऋणको मात्र सेवा पाइरहेका संस्थाहरुलाई थप सेवा प्रवाह गरिने उहाँको भनाई छ ।

