लकडाउनले व्यवसाय संकटमा परेसँगै दोकान बन्द गरी सटर खाली गर्ने क्रम बढ्यो, शिक्षालय बन्द हुँदा जागीरे अभिभावकलाई सास्ती

0 Shares

कोरोना भाइरस(COVID-19) संक्रमण जोखिमका कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट गरिरहेको लकडाउनका कारण अत्यावश्यक सामाग्रीका पसल बाहेकका व्यवसाय संकटमा परेपछि व्यवसायीहरुले पसल बन्द गरी सटर खाली गर्ने क्रम बढिरहेको देखिएको छ ‌। काठमाडौं उपत्यकामा पसल बन्द गर्न चाहने पसलेहरुलाई घरधनीहरुले पसल विक्री गर्न नदिई सामान निकालेर लगी सटर खाली गर्न मात्रै दिएकाले भाडा तिर्न गाह्रो पर्न थालेपछि पसलेहरुले सामान निकालेर सटर खाली गर्न क्रम बढ्दै गएको हो । सरकारले संकटमा परेका व्यवसायीहरु लगायतको आर्थिक सुरक्षा गर्ने गरी कुनै कार्यक्रम नल्याएपछि धेरै तिर निराशा बढिरहेको छ ।
यता यही असार १ गतेबाट सरकारी कार्यालय , बैंक, सहकारी, फाइनान्स लगायका वित्तीय क्षेत्र एवं व्यापार व्यवसाय खुलेपनि शिक्षालय नखुल्दा छोराछोरी विद्यालय पठाएर जागीरमा जाने अभिभावक समस्या परिरहेको भेटिएको छ । यसैगरी सार्वजनिक भाडाका सवारी साधन नचल्दा निजी सवारी साधन नहुने र सार्वजनिक सवारी साधन मार्फत जागीरमा जानु पर्नेहरु पनि मर्कामा परेका छन् । भाडाका बस, माइक्रोबस र टेम्पुमा काम गरेर जीविका चलाउदै आएका यातायात मजदुरहरु लगायतका श्रमिकहरुको जीवन साह्रै कष्टदायक बनिरहेको देखिएको छ । अखिल नेपाल मजदुर यूनियन महासंघका संयोजक कृष्णहरि भट्टले निरन्तरको लकडाउनका कारण जीवन धान्न धौधौमा रहेका यातायात मजदुर लगायतका श्रमिकहरुलाई राहत प्रदान गरी उनीहरुलाई भोक र रोगबाट बचाउन सरकारलाई आग्रह गर्नु भएको छ ।
उता सरकारले गए राती १० बजेदेखि विहान ५ बजेसम्म घर बाहिर हिडडुल गर्न प्रतिबन्ध लगाएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नागरिकहरुलाई गृह मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply