उत्पादनमूलक कार्य गरिरहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई राज्यले आवश्यक सहयोग गर्नु जरुरी छ : पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिनेश थापा

ललितपुर महानगरपालिका-१८, मगरगाउँमा रहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिनेश थापाले 
बचत तथा ऋण कारोवार सँगै कृषि लगायतका उत्पादन तथा विक्री वितरणमूलक कार्य गरिरहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई राज्यले आवश्यक सहयोग गर्नु जरुरी रहेको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले कृषि तथा पशुपञ्छी पालन समेत गरिरहेका पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.लगायतलाई नगद नै सहयोग गर्नु पर्छ भन्ने छैन, सिजनमा मल बीउ तथा उन्नत जातका पशुपञ्छीको अनुदान सहयोग एवं सस्तो दरमा भाडामा जग्गा उपलब्ध गराउन सहयोग गर्नु पर्ने खाँचो औंल्याउनुभयो । लकडाउनको समयमा भने हाम्रो यस संस्थालाई थप उत्पादन गर्न कठिनाइ भइरहेको उहाँको भनाई छ । तपाईहरुको संस्थाले कृषि तथा पशुपञ्छी पालन गरिरहदा राज्यबाट सहयोग पनि प्राप्त भएको छ कि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक कार्कीको जिज्ञाशाको जवाफमा अध्यक्ष थापाले ‘कृषिजन्य कार्यका लागि राज्यको कतैबाट पनि हामीलाई यसबेलासम्म कुनै सहयोग प्राप्त भएको छैन । कृषि तथा पशुपञ्छीजन्य कार्य संस्थाले आफ्नै स्रोत र साधनबाट गरिरहेको छ । यदी राज्य बहुउद्देश्यीय सहकारी संस्थाले कृषिजन्य उत्पादनमूलक कार्य गरोस् भन्ने चाहन्छ भने त्यसका लागि उसले आवश्यक सहयोग गरोस्’ भन्नुभयो ।’ लकडाउनले समस्यामा परेका उत्पादक, व्यवसायी लगायतलाई राज्यले सहकारीको माध्यमबाट अनुदान तथा न्युन व्याजदरमा कर्जा प्रवाह गर्नु पर्दछ र लकडाउन शुरु भएदेखि यसबेला सम्म सहकारी संस्थाबाट शेयर सदस्यहरुबाट बचत फिर्ता लाने कार्य तीव्र गतिमा भइरहेको छ तर सहकारी संस्थामा कर्जा तिर्ने र बचत गर्ने कार्य अति न्युन भएकोले सहकारीलाई बचाउन सरकारले अनुदान तथा अति न्यून व्याजदरमा कर्जा प्रदान गरोस् ‘ गत वर्ष चीनको सहकारीको अध्ययन अवलोकन समेत गर्नु भएका उहाँको कथन छ ।
कृषि तथा पशुपञ्छी पालन सँगै बचत तथा ऋण कारोवार गरिरहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत अन्तर्गत वाल बचत, पेन्शन बचत, दैनिक बचत, मासिक बचत , साधारण बचत र आवधिक बचत सञ्चालन गरिरहेको छ भने उसले सञ्चालन गरिरहेको पेन्शन बचत अन्तर्गत ३ वर्ष भन्दा बढी अवधिसम्म रु.१ लाखदेखि रु.५ लाखसम्म बचत गर्ने प्रतिबद्धता जनाएर पेन्शन बचतमा सहभागी शेयर सदस्यले त्यसमा सहभागिता जनाएको महिनाबाट नै न्युनतम रु.१,३५० देखि अधिकतम रु.६,५०० सम्म पेन्सन पाउने सक्ने व्यवस्था गरिएको बताइएको छ । लकडाउन अवधिभर कम्तीमा हप्ताको दुई दिन र आवश्यकताको आधारमा विहान बेलुका कार्यालयबाट सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको थियो भने आफूले उत्पादन गरेको साथै अरु कृषकहरुले उत्पादन गरेका तथा बजारमा उपलब्ध तरकारी लगायतका कृषिजन्य बस्तुहरु खरिद गरी आफ्ना शेयर सदस्यहरुको घर-घरमा पु-याएर सुपथ मुल्यमा विक्री समेत गरेको थियो । लकडाउनभरीको कर्जाको हर्जाना मिनाह गर्नुको साथै यही असार मसान्तभित्रमा ऋणको व्याज चुक्ता गर्ने शेयर सदस्यहरुलाई सो अवधिको कर्जाको व्याजमा त्यस संस्थाले १० प्रतिशत छुट दिने निर्णय गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै नियमित रुपमा सञ्चालन भइरहेको उक्त संस्थाले आफ्ना कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको जनाएको छ । सोही संस्थाको यही जेठ मसान्तसम्म कूल कारोवार रु.६ करोड रहेको जनाइएको छ ।

