निकट भविष्यबाट नै गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै सुविधा सम्पन्न ४ तले बहुउद्देश्यीय भवनबाट शेयर सदस्यहरुलाई आधुनिक प्रविधि सहितको एकीकृत सेवा प्रवाह गर्दैछ ।
-विकाश खड्का , अध्यक्ष , गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. गाम्चा, भक्तपुर
-विकाश खड्का सम्भावना बोकेका युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । उहाँको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. विभिन्न सामाजिक क्रियाकलाप गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. गाम्चा साकोसको गतिविधि के छ ?
~ स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । यसले आफ्ना सातै जना कर्मचारीको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा सगरमाथा इन्स्योरेन्स क.लि. मार्फत गरेको छ । लकडाउनको समयमा सम्पर्क व्यक्ति मार्फत र लकडाउन खुकुलो भएसँगै पूर्ववत समयमा अर्थात दैनिक विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म तथा शनिवार पनि नियमित रुपमा कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ । यसले लकडाउनको अवधिको हर्जाना मिनाहा गर्नुको साथै कर्जाको चैत्र र बैशाख महिनाको व्याजमा १५ प्रतिशत र जेठ र असार महिनाको व्याजमा ५ प्रतिशत छुट दिएको छ । लकडाउनको समयमा यस संस्थाले सूर्यविनायक नगरपालिका वडा नं.४ को वडा स्तरीय विपद व्यवस्थापन समितिलाई राहत सामाग्री प्रदान गरेको थियो ।
निकट भविष्यमा नै यसले रु.५ करोड लागतमा निर्माण सम्पन्न आफ्नै ४ तले सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट आफ्ना शेयर सदस्यहरुलाई आधुनिक प्रविधि सहितको एकीकृत सेवा प्रवाह गर्दैछ ।

२. तपाईहरुको यो संस्थालाई लकडाउनले कतिको अशर ग-यो नि ?
~ लकडाउनले देशको समग्र अर्थतन्त्रमा अशर गरिरहेको बेला गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.लाई अशर नगर्ने त कुरै भएन तर यस संस्थाका शेयर सदस्यहरुले नियमित रुपमा बचत गर्ने र ऋणी सदस्यहरुले कर्जाको सावाँ व्याज भुक्तानी गर्ने क्रम उत्साहपूर्वक चलिरहेको छ । यस संस्थाबाट सञ्चालित महिला लघुवित्त कार्यक्रम सेवा केन्द्र मार्फत नियमित रुपमा सदस्यहरुमा व्यवस्थित ढंगबाट सञ्चालन भइरहेको छ ।
३. गाम्चा साकोसले सञ्चालन गरिरहेको महिला लघुवित्त कस्तो कार्यक्रम हो ?
~ हाम्रो यस संस्थाले आफ्ना महिला सदस्यहरुलाई व्यवसायी, उद्यमी र स्व-आर्जन गर्न सक्ने बनाउने उद्देश्यले महिला लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम मार्फत सस्तो र सुलभ व्याजदरमा सदस्यहरुलाई कर्जा प्रवाह गरिएको छ । सदस्यहरुलाई नि:शुल्क सीपमूलक तालिम प्रदान गरी उनीहरुलाई नि:शुल्क रुपमा नै वीऊ तथा बेर्ना समेत उपलब्ध गर्ने गरिएको छ । यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्रियाकलापमा बचत मार्फत उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।
४. लकडाउनले अशर गरेको सहकारी क्षेत्रलाई राज्यले के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?
~ अहिलेको कोरोना महामारीको विषय परिस्थितिमा राज्यले सहकारी क्षेत्रलाई लाभ पुग्ने गरी न्युनतम व्याजदरमा कर्जा उपलब्ध गरेमा लकडाउनले मार परेको सहकारी क्षेत्रलाई टेवा पुग्न सक्छ ।
५. गाम्चा साकोसको शेयर सदस्य , शेयर पूँजी र कूल कारोवार कति छ ?
~ यही असार १५ गते सम्म गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को ३,००० भन्दा बढी शेयर सदस्य, रु.२ करोडभन्दा बढी शेयर पूँजी र २२ करोड जति कूल कारोवार छ ।
यस संस्थाले वाल बचत, मासिक बचत, दैनिक बचत, ऐच्छिक बचत, जेष्ठ सदस्य बचत, खुत्रुके बचत र गाम्चा विशेष बचत कार्यक्रम सञ्चालन गरेको छ भने राज्यले तोकेको सीमाभन्दा कम व्याजदरमा शेयर सदस्यहरुलाई कर्जा उपलब्ध गर्ने गरेको छ । यसमा आईएमई (IME) र वेस्टर्न यूनियन(western Union) मार्फत रेमिट सेवा तथा आईएमई पे(IME Pay) सञ्चालनमा छ । आईएमई पे(IME Pay) मार्फत शेयर सदस्यहरुले खानेपानी, विजुली, टेलिफोन तथा इन्टरनेटको महशुल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । हाम्रो यस संस्थाले ‘जन्मदेखि मृत्युसम्म, वालकदेखि वृद्धसम्म’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

६. यो जन्मदेखि-मृत्युसम्म, वालकदेखि वृद्धसम्म’ कस्तो कार्यक्रम हो ?
~ यस संस्थाका महिला शेयर सदस्य सुत्केरी हुँदा २ वटा बच्चा सम्मको लागि सुत्केरी पोषण,र नवजात शिशुलाई वाल सदस्यता प्रदान गर्ने गरिन्छ । यस्तै यस संस्थाका शेयर सदस्यको निधन भएमा राहत कोष मार्फत रु.१० हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको मृत्यु भएमा रु.५ हजार राहत कोष मार्फत राहत स्वरुप प्रदान गरिन्छ ।
७. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी नीति, नियम र कार्यक्रम बनाएर ठिक ढंगबाट कार्यान्वयन गरोस् । लकडाउनबाट मारमा परेका नागरिकहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सरकारले कार्यक्रम बनाई त्यसलाई राम्रो सँग लागू गरोस् ।
्््््््््््््््््््््््््््््््््

