सरकारले सहकारीलाई अति न्युन व्याजदरमा कर्जा प्रदान गरोस् : बाबा साकोसका व्यवस्थापक ज्ञानेश्वर कायस्थ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको बाबा बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक ज्ञानेश्वर कायस्थले कोरोना महामारीका कारण नेपाल सरकारले देशभर गरेको लकडाउनका कारण सहकारी क्षेत्र समस्यामा रहेकोले सो क्षेत्रलाई बचाउन सरकारले सहकारीलाई व्याजमा अनुदान तथा अति न्युन व्याजदरमा कर्जा प्रवाह गर्नु जरुरी रहेको बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले हाम्रो यस ‘बाबा बचत तथा ऋण सहकारी संस्था लि.’ ले आफ्नो सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा उप- समितिहरुका पदाधिकारी एवं सदस्य र कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको शिखर इन्स्योरेन्स क.लि. मार्फत कोरोना वीमा गरेको बताउनुभयो । सो संस्थाले लकडाउन अवधिको हर्जाना मिनाहा गर्नुको साथै कर्जाको व्याजदरमा १० प्रतिशत छुट गरेको उहाँको भनाइ छ । स्थानीय समुदायमा आधारित उक्त संस्थाले लकडाउनमा आफ्ना सदस्यहरुलाई प्रति व्यक्ति एक थान सेनिटाइजर र २ थान सावुन राहत स्वरुप: प्रदान गरेको थियो भने लकडाउनले समस्यामा परेका नागरिकहरुका लागि मध्यपुर थिमि नगरपालिका वडा नं.-४ को वडा कार्यालयलाई रु.२४ हजारको चिउरा राहत स्वरुप प्रदान गरेको व्यवस्थापक कायस्थको कथन छ ।

