लक्ष्मी श्री साकोस, समनपुर, रौतहटका अध्यक्ष राकेश कंठ सो सहकारीको रु.४० लाख लिएर फरार
रौतहट जिल्लाको गढीमाई नगरपालिका-२, समनपुरमा रहेको लक्ष्मी श्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राकेश कंठ सो संस्थाको रु.४० लाख भन्दा बढी रकम लिएर २०७६ असोज महिनादेखि फरार भएको स्थानीयबासीले बताएका छन् । राम्रो सँग चलिरहेको उक्त संस्था एकाएक बन्द भएको बताइएको छ ।
अध्यक्ष कंठ भागेपनि त्यस संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका बाँकी पदाधिकारी र सदस्यहरु भने समनपुर आसपास मै छन् तर उनीहरु उक्त संस्थाप्रति जवाफदेही बनेका छैनन् । यसले उनीहरुकै मिलेमतोमा अध्यक्ष कंठले त्यस संस्थाको रकम हिनामिना गरी भागेको हुन सक्ने आशंका जन्माएको छ । लामो समयदेखि सो संस्था बन्द भइरहदा पनि राज्यको सम्बन्धित नियामक निकायले त्यसप्रति कुनै चासो व्यक्त गरेको छैन । सो संस्थाका शेयर सदस्यहरु भन आफूले त्यस संस्थामा जम्मा गरेको रकम राज्यले आफूलाई फिर्ता दिलाउन माग गरिरहेका छन् । फरार राकेश कंठ भारतीय भूमिमा लुकेर बसेको हुन सक्ने आशंका व्यक्त स्थानीय बासिन्दाले व्यक्त गरिरहेका छन् ।

