नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.ले ग-यो लकडाउन अवधिको हर्जना र विलम्ब शुल्क मिनाहा र व्याजमा छुट

काठमाडौंको भृकुटी चोक, कपनमा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.ले लकडाउन अवधिको कर्जाको व्याजमा ५ प्रतिशत छुट गर्नुको साथै त्यस अवधिको हर्जाना र बिलम्ब शुल्क मिनाहा गरेको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका प्रवन्धक शंकर आचार्यले स्थानीय समुदायमा आधारित हाम्रो यस संस्थालाई पनि लकडाउनले समस्या बनाएपनि यतिबेला शेयर सदस्यहरुले उत्साहपूर्वक संस्थामा वित्तीय कारोवार गरिरहेको बताउनुभयो ।
यस संस्थाले लकडाउनको समयमा सम्पर्कको आधारमा आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको थियो भने २०७७ बैशाख १६ गतेदेखि दैनिक विहान १० बजेदेखि दिउसो ३ बजेसम्म र यही असार १ गतेदेखि पूर्ववत समय अनुसार संस्थाले कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ’ उहाँको भनाई छ ।
वि.सं. २०५७ सालमा रु.२,८०० पूँजीबाट बचत कोष हुँदै र २०६४ चैत्र ४ गतेबाट नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि. बाट रु.२८,००,००० पूँजीबाट वित्तीय कारोवार शुरु गरेको थियो भने यसबेला उक्त संस्थामा ५०० भन्दा बढी शेयर सदस्य, रु.१ करोड जति शेयर पूँजी, रु.८ करोड निक्षेप संकलन, रु.७ करोड कर्जा लगानी र रु.१० करोड जति कूल कारोवार रहेको बताइएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाभर र काठमाडौं महानगरपालिका वडा नं. ६ मा कार्यक्षेत्र रहेको सो संस्थाले बहुउद्देश्यीय कार्य सञ्चालन गर्ने बारेमा छलफल गरिरहेको जनाइएको छ ।
सो संस्थाका प्रवन्धक आचार्यले सहकारीका छाता संगठनहरुले यथाशीघ्र सहकारीको वास्तविक समस्या पहिचान गरी त्यसलाई समाधान गर्ने ढंगबाट योजना बनाएर कार्यान्वयन गर्नु जरुरी छ भन्नुभयो ।

