चन्द्रागिरि साकोस, थानकोट र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि बीच भयो एम्बुलेन्स सञ्चालन सम्झौता
काठमाडौंको थानकोटमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि बीच आज एम्बुलेन्स सञ्चालन सम्झौता भएको छ । विगत १० वर्षदेखि आफ्ना शेयर सदस्य र आसपासमा एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. सो क्लबलाई नयाँ एम्बुलेन्स सञ्चालनको लागि वित्तीय सहयोग गर्न सहमत भएको बताइएको छ। बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयबाट एम्वुलेन्स खरिद सम्बन्धी आवश्यक सिफारिस प्राप्त भई उक्त एम्बुलेन्स खरिद प्रकृयामा गईसकेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले जनाएको छ । आज सम्पन्न सम्झौता कार्यक्रममा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले एम्बुलेन्स खरिदको लागि आवश्यक पर्ने रकमको चेक उक्त क्लवलाई हस्तान्तरण गर्नुका साथै दुबै पक्ष बीच सम्झौता-पत्र आदान प्रदान गरिएको थियो ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ,चन्द्रागिरिका अध्यक्ष जयरामप्रसाद लुईटेल र नि:बर्तमान तथा भूतपूर्व अध्यक्षहरु क्रमश: राजेन्द्र विक्रम बानियाँ, मनमायाँ गिरी, रेशमलाल दवाडी सहित कार्यसमितिका पदाधिकारीहरु तथा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का लेखा सुपरीवेक्षण समिति संयोजक गोबिन्दप्रसाद मिश्रका साथै सोही संस्थाका सञ्चालक समितिका पदाधिकारी र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शिवशंकर मानन्धर र प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ तथा लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरीका नि:बर्तमान अध्यक्ष राजेन्द्र विक्रम बानियाँले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको प्राप्त समाचारमा जनाइएको छ ।
हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि., दहचोक, काठमाडौंसँग एकीकरण गरेको चन्द्रगिरि बचत तथा ऋण सहकारी संस्था लि.ले रिचमण्ड बचत तथा ऋण सहकारी संस्था लि.सँग अघिल्लो महिना एकीकरण गरेको छ । यससँगै काठमाडौं जिल्लाभर कार्यक्षेत्र भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले ललितपुर जिल्लाभर कार्यक्षेत्रको अनुमती बागमती प्रदेश, सहकारी कार्यालयबाट पाएको छ भने उक्त संस्थाले काठमाडौंको दहचोक र ललितपुरको लगनखेलमा आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी सदस्य सेबा केन्द्र सञ्चालन गरेको छ ।

