काठमाडौं उपत्यकामा साउन ५ गतेबाट सबै सार्वजनिक यातायात चल्ने, मौद्रिक नीतिप्रति अटो मोवाइल व्यवसायीहरु असन्तुष्ट
यही साउन साउन ५ गतेबाट काठमाडौं उपत्यकामा सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।यही साउन २ गते नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा आफ्ना धेरै माग सम्बोधन भएकाले यातायात व्यवसायीहरु सार्वजनिक यातायातका साधन सञ्चालन गर्न राजी भएको देखिएको छ । यही असार २६ गतेदेखि सरकारले साविक भाडामा दोब्बर बढाएर सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमती दिएपनि सिमित मात्रामा


टेम्पो, माइक्रोबस र बसहरु कोरोना भाइरसबाट सुरक्षा अपनाई सञ्चालन भएका छन् । यही साउन १ गतेबाट ८ वटा रुटमा साझा यातायातका ७१ वटा मध्ये २६ वटा बस सञ्चालनमा आएका छन् भने संयुक्त, मयुर, सहारा लगायतका यातायातका साधनहरु पनि कोरोना भाइरसको जोखिमबाट सुरक्षा अपनाई सञ्चालन भइरहेका छन् तर सार्वजनिक सवारी साधनमा कोरोना भाइरस जोखिमको भयका कारण साह्रै समस्यामा परेका बाहेकका यात्रुहरु सवार भएको देखिदैन । सञ्चालनमा रहेका बसहरुबाट उठेको रकमले ४० प्रतिशत सञ्चालन खर्च मात्रै धान्ने साझा यातायातको भनाई छ । अरु यातायातका साधन सञ्चालकहरुको पनि उस्तै अभिव्यक्ति दिएको देखिन्छ । सञ्चालनमा रहेका यातायातका साधनमा कार्यरत यातायात मजदुरहरु सरकारले यात्रुको ज्वरो नाप्ने थर्मल गन उपलब्ध गरिदियोस् भनी माग गरिरहेका छन् । सार्वजनिक यातायातका साधन सञ्चालन भएसँगै लकडाउनले समस्याग्रस्त अर्थतन्त्र विस्तारै चलायमान हुदै जाने जानकारहरु बताउछन् ।
यातायात व्यवसायीहरु साउन ७ गतेपछि लामो दुरीका यातायातका साधन पनि चलाउन सहमत देखिएका छन् तर सरकारले लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरी सकेको छैन । सरकारले केवल साउन ७ गतेसम्म लकडाउन खुकुलो मात्रै बनाएको छ तर साउन ७ गतेपछि के गर्ने भन्ने बारेमा कुनै निर्णय गरी सकेको छैन ।
यता यही साउन २ गते नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले आफ्ना माग सम्बोधन नगरेको भन्दै अटो मोवाइल व्यवसायीहरुले सो मोद्रिक नीति प्रति असन्तुष्टि व्यक्त गरेको देखिएको छ ।

