३८औँ वीपी स्मृति दिवसमा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सम्झना
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३८ स्मृति दिवस वीपी स्मृति ट्रष्ट तथा नेपाली काँग्रेसका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाए ।
पिता कृष्णप्रसाद कोइरालाको राणा शासन विरुद्धको संघर्षको प्रेरणाले शुरुमा भारतीय स्वतन्त्रता संग्राम र त्यसपछि नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि संघर्षमा होमिएका थिए वीपी कोइराला । वि.सं. २००७ सालको क्रान्तिको नेतृत्वदायी भूमिका निभाएका वीपी कोइराला वि.सं. २००७-२००८ मा गृह मन्त्री र वि.सं.२०१५-२०१७ मा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री भएकै समयमा नेपाल र चीन वीचको सीमा विवाद समाधान भएको बताइन्छ । वि.सं. २०१७ को ‘कू’ पछि ८ वर्ष सुन्दरीजल जेलमा जैल जीवन व्यतित गरेका वीपीले सो जेलबाट छुटेपछि गणेशमान सिंह सहितका सहयोद्धाहरुसँग भारत प्रवासमा निर्वासित जीवन बिताएका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दीरा गान्धीले नेपालको रक्षा र परराष्ट्रको अधिकार भारतलाई दिएमा आजीवन प्रधानमन्त्री बनाई दिने प्रस्ताव राख्दा वीपीले त्यसलाई अस्वीकार गरेका कारण भारत सरकारले उनी माथि दमनको नीति लिएकोले भारतसँग झुक्नुको साटो नेपालका राजासँग आफ्नो गला जोडिएको भन्दै २०३३ साल पुस १६ गते वीपी सहकर्मी सहित नेपाल फर्केको पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘वीपी विद्रोह’ मा उल्लेख छ । प्रजातन्त्रको निम्ति संघर्ष गर्ने क्रममा क्यान्सर रोगका कारण २०३९ साउन ६ गते वीपी कोइरालाको निधन भएको थियो ।
राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ भन्ने वीपी राजनीतिमा जति शसक्त बने , त्यत्तिनै शसक्त नेपाली साहित्यमा पनि बने । चन्द्रबदन नामक कथा लेखेर नेपाली साहित्य सिर्जनामा लागेका वीपीका ‘दोषी चस्मा’ र ‘स्वेतभैरवी’ नाकम २ वटा कथा संग्रह, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ , ‘हिटलर र यहुदी’ र ‘बाबु,आमा र छोरा’ नामक ६ वटा उपन्यास , जेल जर्नल र आत्मबृतान्त पुस्तक तथा विभिन्न लेख रचना प्रकाशन भएका छन् । ‘चन्द्रबदन’ कथा लेखेर नेपाली साहित्यको कथा विधामा मनोविज्ञान भित्र्याएका वीपीका कथाहरु एन्टोन चेकोबका रचनाबाट प्रभावित रहेको साहित्यकारहरुको भनाई छ । राजनीतिमा वीपी र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामले उनी प्रख्यात छन् । नेपाली साहित्यमा मनोविज्ञानलाई अंगालेका वीपीका सबैजसो रचनाहरु पठनीय छन् ।
कर्मले नेपाली प्रजातान्त्रिक राजनीतिक आन्दोलनमा उपल्लो तहको उचाई हासिल गरेका वीपीको समर्थनसँगै आलोचना पनि भइरहे को छ ।

