अस्ताए कम्युनिष्ट योद्धा बर्मन बुढा
नेपालको कम्युनिष्ट आन्दोलनका योद्धा तथा भूतपूर्व सांसद वर्मन बुढाको ९० वर्षको उमेरमा आज ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रोल्पाको थवाङ्गमा जन्मेका बुढा विगत १ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी(मसाल)का महामन्त्री मोहनविक्रम सिंहबाट प्रभावित भई नेपालको कम्युनिष्ट आन्दोलनमा लागेका बुढा संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालदेखि २०५१ सालसम्म संसदको तल्लो सदन प्रतिनिधिसभा सदस्य थिए । त्यसबेला बर्मन बुढा सहित संयुक्त जनमोर्चा नेपालका संसदको तल्लो सदन प्रतिनिधिसभामा ९ जना सांसद थिए । २०५२ सालमा नेकपा(माओवादी) ले शुरु गरेको दीर्घकालीन जनयुद्धमा बुढा पनि होमिएका थिए ।
बाचुञ्जेल निष्ठाको राजनीति गरेका बुढाले सादगी जीवन बिताएका थिए । बुढाको निधनप्रति विभिन दलका नेता कार्यकर्ता लगायतले दु:ख व्यक्त गरेका छन् ।

