सज्जन महिला साकोस , का.म.न.पा.- ६ ,महाङ्कालको आघिल्लो आर्थिक वर्षमा लगानी गरेको कर्जाको ८८ प्रतिशत व्याज असुल भयो ।

0 Shares

– चेमा(सीमा) पुरी , सञ्चालक, कस्कून तथा अध्यक्ष , सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि., का.म.न.पा.-६, महांकाल

 

 

काठमाडौं महानगरपालिका-६, महांकाल ओरालोमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई कोरोना भाइरस(COVID-19x) को जोखिमबाट सुरक्षित रहन नेपाल सरकारले गरेको लकडाउनले खासै असर नगरेको सो संस्थाकी अध्यक्ष चेमा(सीमा) पुरीले बताउनु भएको छ । नेपाली साहित्यको विशेष गरी उपन्यास विधामा समेत कलम चलाउदै आउनु भएको छ पुरी । उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले सोही संस्थाकी व्यवस्थापक नगीना सिंह भण्डारीको समेत उपस्थितिमा छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. यतिबेला सज्जन महिला साकोस के गर्दै छ ?

~ हाम्रो यस ‘सज्जन महिला  बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को क्लोजिङ्ग सन्तोषजनक रुपमा सकियो । यस संस्थाले अघिल्लो आर्थिक वर्षमा लगानी गरेको कर्जाको ८८ प्रतिशत व्याज असुल भयो । यो संस्थाको संस्थागत पूँजी ५ प्रतिशत छ । ३२ जना शेयर सदस्यहरुको रु.१,६०,००० शेयर पूँजीबाट २०६६ माघ २ गतेबाट कारोवार सञ्चालन शुरु गरेको यस संस्थाको यही असार मसान्तसम्म शेयर सदस्य संख्या १,३८६, शेयर पूँजी रु. १,३४,४१,००० , निक्षेप संकलन रु.८,४०,७३,५३७/२३, कर्जा लगानी रु.८,१५,४६,०१६, जगेडा कोष रु.५५,००,००० , घाटा सुरक्षण कोष रु.२५,००,००० , कूल सम्पति रु.१०,८०,६१,०५९/६२ र कूल कारोवार रु.११,९४,१५,५८९/५७  रहेको छ । हाम्रो यो संस्थामा सहकारी संस्थागत सुशासन कायम छ । यसका प्राय: सबैलाई पर्ल्सको बारेमा राम्रो ज्ञान छ ।

 

२.  लकडाउनले यो संस्थालाई कत्तिको अशर ग-यो नि ?

~ बन्दाबन्दी (लकडाउन) ले हाम्रो यो संस्थालाई खासै अशर गरेको छैन । कर्जाको बन्दाबन्दीको अवधिको हर्जाना र विलम्ब शुल्क मिनाहा गर्नुका साथै व्याजमा १० प्रतिशत छुट दिइयो । बन्दाबन्दी खुकुलो भएसँगै संस्थाका ऋणी शेयर सदस्य तथा बन्दाबन्दीबाट समस्यामा परेका शेयर सदस्यहरुलाई १४ प्रतिशत व्याजदरमा रु.१ लाखसम्म कर्जा प्रवाह  गरिएको छ । समस्यामा परेका शेयर सदस्यहरुलाई आउदो असोज महिनामा १२ प्रतिशत व्याजदरमा ‘साना कर्जा’ प्रवाह गर्ने गरी योजना बनिसकेको छ र त्यसको नीति बन्दैछ ।

बन्दाबन्दी शुरु भएदेखि २०७७ बैशाख ११ गतेसम्म सम्पर्कको आधारमा हामीले संस्थाका शेयर सदस्यहरुको ढोकामा पुगेर र २ त्यसपछि भने यो संस्थाको कार्यालय  पूरै समय सञ्चालन गरी आफ्नो शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेका छौँ। बन्दाबन्दीको अवधिभर ११औँ चरणसम्म ३६५ परिवारलाई रु.६ लाख भन्दा बढी रकम बराबरको आर्थिक तथा खाद्यन्न सहयोग गरियो । यसरी सहयोग लिनेमा ८० प्रतिशत यस संस्थाका शेयर सदस्यहरु हुनुहुन्छ । त्यो सहयोगमा यो संस्थाले पुलको काम मात्रै ग-यो । त्यसमा यसको १ रुपैया पनि परेको छैन ।  यस संस्थाको परिवार ,  विभिन्न व्यक्ति तथा संघ/संस्थाबाट आर्थिक तथा खाद्यान्न संकलन गरी त्यसलाई यसै संस्थाको कार्यालयमा प्याकेजिङ्ग गरी वितरण गरियो र आजका दिनसम्म पनि समस्यामा परेका सदस्यहरुलाई भोकै बस्न नपर्ने गरी यो संस्थाले व्यवस्था मिलाएको छ । हामीले सहयोग गर्न सक्नेलाई सहयोग गर्न र समस्यामा परेका सहयोग लिन आउन अपील ग-यौँ । सोही अनुसार सहयोग गर्न सक्नेले सकेको सहयोग गर्नु भयो भने समस्यामा पर्नेहरुले सहयोग लिनुभयो ।

 

३. तपाई सहकारी क्षेत्रमा लागेको कति समय भयो ?

~ विगत २३ वर्षदेखि लगातार म सहकारी क्षेत्रमा कार्य गरिरहेकी छु ।  सहकारी क्षेत्रमा मेरो प्रवेश कर्मचारीको रुपमा भयो । लामो समयसम्म मैले कर्मचारी भएर काम गरेँ । यो संस्थाको स्थापना भएपछि भने मैले यसको नेतृत्व गरिरहेकी छु । बाचुञ्जेलसम्म नै सहकारी क्षेत्रमा रहेर काम गर्ने इच्छा छ मेरो ।

 

४.   सहकारी सन्दर्भ व्याजदर बारे तपाईको केही भन्नु छ कि ?

~ सहकारी सन्दर्भ व्याजदरले हामीलाई खासै अशर गरेको छैन । मौद्रिक नीति आएपछि पनि त्यसले हामीलाई अशर गरेको छैन । हामी त्यत्तिकै पनि १३ देखि १५ प्रतिशत व्याजदरको वीचमा कर्जा लगानी गर्ने योजना तर्जुमा गरिरहेका छौँ ।

५.   राज्यले सहकारीको लागि के गर्नु पर्ला ?

~ राज्यको नियमनकारी निकाय , सहकारीका छाता , संगठन र राष्ट्रिय सहकारी बैंक लि.ले सहकारी- सहकारी वीचको अस्वस्थ प्रतिस्पर्धा रोक्नु परो र सहकारीमा सुशासन कायम गरी सुशासनमा चल्ने संस्थाहरुलाई प्रोत्साहन गर्नु परो । अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा सहकारी एकीकरणमा जानु उचित हुन्छ । हामी पनि सहकारी एकीकरणको बारेमा सोचिरहेका छौँ र हाम्रो यो संस्थाको विनियम पुनर्लेखन गरी सम्बन्धित नियमनकारी निकायबाट स्वीकृति गराई सकेका छौँ ।

६.  तपाई  साहित्यिक क्षेत्रमा पनि हुनुहुन्छ ? के हुदैछ तपाईको साहित्य सिर्जना ?

~ अलि अगाडि  प्रकाशन भएको मेरो उपन्यास ‘परी’ लाई पाठकहरुले रुचाई दिनुभयो । बजारमा गएको यो उपन्यासको सबै प्रति विक्री भयो । यसलाई युटुबमा पनि सुन्न सक्ने व्यवस्था गरिएको छ । मेरो अर्को उपन्यास पनि प्रकाशन लागेको छ । यो चाडै बजार आउदै छ । सहकारी सम्बन्धी पुस्तक लेख्ने योजना छ मेरो ।

 

 

 

 

Leave a Reply