यही भदौ भित्र राष्ट्रिय सहकारी बैंक लि.का थप २४ वटा शाखा सञ्चालनमा आउदैछन्

0 Shares

– के.वी. उप्रेती , अध्यक्ष , राष्ट्रिय सहकारी बैंक लि.

 

 

 

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेड यतिबेला आफ्नो १८औँ स्थापना दिवस मनाउने तयारी गरिरहेको छ । २०६० असार २५ गते विधिवत रुपमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोवार शुरु गरेको यो बैंकको केन्द्रीय कार्यालयका अतिरिक्त ४४ वटा शाखा सञ्चालनमा छन् । सो बैंकले थप २४ वटा शाखा स्थापना गर्ने तयारी गरिरहेको छ । यी सहितका समसामयिक विषयमा केन्द्रित रहेर उक्त बैंकका अध्यक्ष के.वी. उप्रेती सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

 

१.   यतिबेला राष्ट्रिय सहकारी बैंक लि. को गतिविधि के चल्दैछ ?

~ बैंकको गतिविधि भनेको बैंकिङ्ग  काम नै हुन्छ ।  बचत गर्ने , कर्जा लगानी गर्ने , प्रवर्द्धनका कामहरु गर्ने , तालिम सञ्चालन गर्ने , सहकारी संघ/संस्थाको बारेमा सम्बन्धित निकायमा बहस पैरवी गर्ने – यिनै दैनिक काम भइरहेका छन् यो बैंकका । लकडाउनको कारणले केही- केही समस्या उत्पन्न भएर  बैंकको गतिविधिमा अलेली अवरोध आएको छ । अरु सबै ठिकै छ ।

२.       राष्ट्रिय सहकारी बैंक लि.को १८औँ स्थापना दिवस मनाउने तरखर गर्दै हुनुहुन्छ होला सायद तपाईहरु ,  कार्यक्रम के हुदैछ  ?

~  साउन १९ गते हाम्रो यो बैंको स्थापना दिवस हो । यसलाई कसरी अगाडि बढाउने भनेर हामी छलफल गरिरहेका छौँ । यसमा शुभकामना दिने , बधाई दिनेमा त समस्या भएन । ग्यादरिङ्ग गरेर   वैंकको बारेमा जानकारी दिने गरेका छौँ , हामीले  बैंकको गतिविधि र प्रगतिका बारेमा बैंकका शेयर सदस्यहरु तथा सहकारीकर्मीहरुलाई जानकारी दिने गर्छौँ ।

३.  यो बैंक स्थापना भएको १८ वर्ष पुग्न लागेको छ । यो वीचमा यस वैंकले गरेका उल्लेखनीय कार्य चाहिँ के जस्तो लाग्छ , तपाईलाई ?

~  बैंक भन्ना साथै मुख्यत: बित्तीय कारोवारै भयो- पहिलो काम त । सहायक कामहरुमा अघि मैले भनेका धैरै कुराहरु : प्रवर्द्धनका कामहरु , लविङ्ग गर्ने कामहरु , व्यवसायिक कामहरु , यसका अन्तर्राष्ट्रिय सम्बन्धका कुराहरु , सदस्यता बृद्धि गर्ने कुराहरु , आफ्नो नेटवर्क विस्तार गर्ने कुराहरु , शाखाहरु निर्माण गर्ने कुराहरु र तत् तत् राज्यका अंगहरुमा समन्वय गर्ने , केन्द्रीय तह , प्रदेश र स्थानीय तहमा समन्वय गर्ने कुराहरु । यही ढंगबाट हामी अगाडि बढिरहेका छौँ ।

४, यो बैंकका २४ वटा नयाँ शाखा स्थापना हुने भनिएको थियो । ती शाखा स्थापनाको कार्य के हुँदैछ ?

~  यो बैंकका ८४ वटा नयाँ  शाखाको  हामीले प्रस्ताव गरेका थियौँ । यस मध्ये अहिले २४ वटा शाखाको स्वीकृति भएको छ । भदौ भित्र यी सबै शाखा सञ्चालनमा ल्याउने हाम्रो योजना छ । ४४ मा यी २४ वटा शाखा थपिएर यस बैंकका ६८ वटा शाखा हुनेछन् ।

५.    तपाईले यो बैंकको जुन ८४ वटा शाखा भन्नु भएको थियो नि , ती बाँकी शाखाहरुको लागि चाहिँ तपाईहरुले के पहल गर्दै हुनुहुन्छ ?

~ पहिला यसलाई सञ्चालन गर्नु पर्छ । यसको प्रफर्मैन्स कस्तो हुन्छ ? बाँकी रहेका शाखाहरुको लागि पनि क्रमश: पहल कदमी गर्ने छौँ ।

६. अहिले सञ्चालनमा रहेका यो बैंकका शाखाहरुको प्रफर्मेन्स कस्तो छ ?

~  राम्रो छ । त्यसैबाट उत्साही भएर नै त हामीले यी थप शाखाहरु सञ्चालनमा ल्याउन लागेको ।

७.   यो बैंकको शेयर शदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ ?

~   यही असार मसान्तसम्म यसको शेयर पूँजी रु. २ अर्व २२ करोड ,  शेयर सदस्य संख्या १२ हजार भन्दा माथि , निक्षेप संकलन रु.४७ अर्व , कर्जा लगानी रु. २७ अर्व र कूल कारोवार रु.५२ अर्व भन्दा माथि रहेको छ ‌।

८.   सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन हुदैछ भन्ने सुनिन्छ । यस बारेमा तपाईको धारणा के छ ?

~ अहिले मार्केट त अस्थिरता छ- कोभिड-१९ को कारणले ।  सहकारी सन्दर्भ व्याजदरको मिटिङ्ग भइसक्यो । सबै केन्द्रीय संघहरुले बैंकबाट कर्जा लगानीमा के व्याजदर छ , डिपोजिट संकलनमा के व्याजदर छ भन्ने विवरण ल्याएर छलफल शुरुवात गर्नु भा’को छ । मार्केट कसरी र कुन ढंगले अगाडि जान्छ , सहकारीहरुको चाहना के हुन्छ , तिनलाई कसरी व्यवस्थित गरी सुशासनमा ल्याउन सकिन्छ , तिनमा कसरी विकृति रोक्न सकिन्छ भनी वैज्ञानिक हिसावले हिजोका राम्रा कुराहरुलाई पनि अनुशरण गर्दै र कमी कमजोरी भएका कुराहरुलाई करेक्सन गर्दै  सन्दर्भ व्याजदरले निकाश दिएर अघि बढ्ने छ ।

९. समस्यामा परेका सहकारीलाई राज्यले के गरोस् भन्ने चाहनु हुन्छ तपाई र तपाईले चाहिँ तिनका लागि के पहल गरिरहनु भएको छ ?

~  राज्यसँग त हामीले धेरै कुरा माग गरेका छौँ । राहत प्याकेज आवोस् , गैर बचत तथा ऋणको व्याजदर कम होस् र पुनर्कर्जाको व्यवस्था होस् भनेर माग गरेका छौँ। त्यो कुनै पनि कुरा भा’को छैन ।

१०. यसको लागि चाहिँ के पहल भैरहेको छ नि ?

~ म राष्ट्रिय सहकारी महासंघको सञ्चालक पनि छु । सो महासंघ तथा यो बैंक मार्फत तत् तत् ठाउँहरु : भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, अर्थ मन्त्रालय , नेपाल राष्ट्र बैंक , सबै ठाउँमा  हामीले पहल गरेका छौँ ।   नीतिगत सुधार गर्ने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ तर फाइनान्सियल सहयोग गर्ने कुरा भने त्यस्तो देखिएको छैन ।

११.   सहकारी ऐन, २०७४ शंसोधन हुने चर्चा थियो , धेरै सहकारी अभियान्ताहरुले यो ऐन शंसोधन भएन । अब आउदो कार्तिक १ गतेबाट सो ऐन पूरै लागू हुदैछ । यसले सहकारी क्षेत्रलाई कतिको असर गर्ला ?

~  पहिला चाहिँ २५ प्रतिशत सहकारीको अनुकूल र ७५ प्रतिशत  प्रतिकुल थियो । हामी सबै लागेर त्यसलाई रोहबर्स गराइयो । यो ७५ प्रतिशत सहकारी अनुकूल र २५ प्रतिशत प्रतिकूल भयो । अब त्यो २५ प्रतिशतलाई पनि क्रमश: ७५ बाट ८० , ८० बाट ९० , ९० बाट ९५ र सकियो भने १०० प्रतिशत बनाउने गरु सहकारी अभियानको तर्फबाट करेक्सन गर्ने कुरामा हामी लागिरहेका छौँ ।  मिटिङ्ग , भेला , अन्तर्क्रिया भइरहेको छ । कोभिड-१९ आउनु भन्दा अगाडि यो अन्तिम अन्तिम चरणमा , उच्च तहमा केही केही सहमती गरेर जानु पर्ने भन्ने कुरा आएको थियो । लकडाउनले गर्दा त्यसलाई अशर ग-यो । लकडाउन पछि फेरि त्यो काम प्रारम्भ भा’छ ।

१२ .  सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने भन्ने कुरा नेपाल सरकारको बजेट आएको छ । अब यो कहिले सम्ममा स्थापना होला , यस बारे तपाईहरुलाई जानकारी होला नि ?

~  सबै केन्द्रीय संघ तथा यो बैंक समेत बसेर छलफल गरेर सहकारी महासंघ मार्फत यसको कार्यविधि बनाएर मन्त्रालयमा पेश गरिएको छ । मन्त्रालयबाट कार्यविधि पास भएपछि  विशिष्टिकृत संघको मोडेलको रुपमा यो अगाडि बढ्छ । यसको अगुवाई राष्ट्रिय सहकारी महासंघले गरिरहेको छ ‌। हाम्रो तर्फबाट सबै काम कम्प्लिट भयो र सहकारी मन्त्रालयमा बुझाइएको छ । सहकारी मन्त्रालयले कार्यविधि बनाएर पास गर्ना साथ त्यो अगाडि बढ्छ ।

१३.  यसको लागि कति समय लाग्ला तपाईको तपाईको अनुमानमा ?

~ हाम्रो त चाहना भोलि नै भइदियोस् , पर्सी नै भइदियोस् भन्ने छ नि !

१४.  तपाईले पाएको सूचना आनुसार ..?

~ त्यो धेरै ढिलो नहोला , जति सक्यो चाडै होला ।

१५. हामी राष्ट्रिय सहकारी बैंककौ १८औँ स्थापना दिवसको सेरोफेरोमा छौँ ‌। पसबेला तपाई आम सहकारी कर्मीहरुलाई के भन्नु हुन्छ ?

~ आम सहकारीमा राष्ट्रिय सहकारी बैंकले थाहा पाएसम्म कुनै पनि समस्या , वित्तीय या गैर वित्तीय , समस्या पर्दाखेरी  पवर्द्धन गर्ने , लविङ्ग गर्न र सहजीकरण गर्न काममा राष्ट्रिय सहकारी बैंक लागिरहेको हुन्छ । यस बैंकका सबै इण्डिकेटर सकारात्मक छन् । कोभिड-१९ ले प्रभाव पारेपनि हिजोको जुन स्पिड थियो , जुन  लक्ष्य थियो, त्यो भन्दा बढी नै यस बैंकले उपलव्धी हासिल गरेको छ । त्यसकारण हाम्रा सदस्यहरुलाई चाहे लाभांशको नामबाट , चाहे संरक्षण कोष फिर्ताको नामबाट होस् वा अरु विभिध  ढंगबाट सहयोगमा हामीबाट कमी हुने छैन । कुनै संस्था राष्ट्रिय सहकारी बैंकको सदस्य बन्नु भएको छैन भने पहिले  रु.१० हजार भनिन्थ्यो तर अब रु.१ हजारमा पनि सदस्य बन्न सकिन्छ । त्यसकारण जो यस बैंकको सदस्य बन्नु भएको छैन , उहाँहरुलाई सदस्य बन्नको लागि , जो सदस्य बनेर पनि राष्ट्रिय सहकारी बैंकमा कारोबार गरिरहनु भएको छैन , उहाँहरुलाई राष्ट्रिय सहकारी बैंकमा कारोवार गर्नको लागि अनुरोध छ ।  यस्तो अलिकति विपदको अवस्थामा अथवा कोभिड-१९ को असरको कारणले हामीले यस बैंकको यो स्थापना दिवस भव्य रुपमा मनाउन सकेनौँ । जुन रुपमा भएपनि यस बैंकको स्थापना दिवसको शुभ अवसरमा सम्पूर्ण सहकारीकर्मीहरु , हाम्रा सदस्यहरु सबैलाई यस बैंकको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१६.  राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रमा नेपाल राष्ट्र बैंकको भूमिका निर्वाह गर्नु पर्छ भनेको पनि सुनिन्छ । यो कति जायज छ ? कि यो बैंकले सो भूमिका पूरा गरेर पनि मान्लेछेहरु नबुझेका हुन् ?

~ क, ख, ग र घ, वर्गका बैंक तथा वित्तीय संस्थाको निरीक्षण नेपाल राष्ट्र बैंकले गर्छ । त्यहाँ विभिन्न किसिमका फण्ड हुन्छन्- सरकारी , गैर सहकारी । उसले त्यसै हिसावले  गरिरहेको हुन्छ  । राष्ट्रिय सहकारी बैंकले पनि सहकारी क्षेत्रमा त्यसै ढंगले गरी दियोस् भन्ने चाहना धेरै सहकारीकर्मी तथा सहकारी संघ/संस्थाको  छ । त्यौ अस्वभाविक होइन तर हामी कुन ढंगले अगाडि बढ्ने ? आफै बिजिनेस पनि गरेर राहत दिएर अगाडि बढ्ने कि  विजिनेश छोडेर अनुगमन निरीक्षण मात्रै गरेर अगाडि बढ्ने भन्ने कुरा आ’को छ ।  अनुगमन र निरीक्षण मात्रे गरेर सस्टेन हुन राज्यले सपोर्ट गर्नु पर्दछ- विजीनेस नगरेपछि । कि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग गरेर पनि गर्न सकिन्छ । त्यो निश्चितता नभएपछि बिजीनेस पनि गर्दै सहकारी संघ/संस्थालाई प्रवर्द्धन गर्ने कुरामा , वित्तीय सहयोग गर्ने कुरामा , सहजीकरण गर्ने कुरामा र बहस पैरवी गर्ने कुरा जुन ढंगले हामी लागिरहेका छौँ , हाम्रो स्प्रिट त्यतैपटी अगाडि बढिरहेको छ । जुन सहकारी संघ/संस्थाहरुको चाहना छ , त्यो अस्वभाविक होइन । त्यसका लागि हामीलाई वैकल्पिक स्रोत चाहियो । वैकल्पिक स्रोत भयो भने हामी जस ढंगबाट जान पनि तयार छौँ ।

१७.   अन्तमा केही भन्नु छ कि ?

~  सहकारी क्षेत्रमा कलम चलाउने मिडियाका साथीहरु , सहकारीकर्मीहरु, यस बैंकका सदस्यहरु , कर्मचारीहरु ,सबैमा राष्ट्रिय सहकारी बैंकको १८औँ स्थापना दिवसको शुभ अवसरमा हार्दिक शुभकामना ।

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply